Sagun Khabar
बैतडीमा घरदैलोमै उम्मेदवार 

बैतडी –आसन्न स्थानीय तहको निर्वाचनमा मत खसाल्ने दिन नजिक आएका बेला उम्मेदवारहरुले घरदैलो अभियानलाई आक्रामक रुपमा अघि बढाएका छन् । जिल्लाका १० ओटै स्थानीय तहमा उम्मेदवारहरु भोट माग्न अहिले गाउँगाउँ पुगेका स्थानीयहरुले बताएका छन् । 

उम्मेदवारहरु आफ्ना चुनावी एजेण्डा सहित घरदैलोमा व्यस्त रहेका छन् । आफूहरुले प्रतिबद्धता पत्र बनाएर जनता सामु भोट मागिरहेको दशरथचन्द नगरपालिकामा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार गजेन्द्रसिंह रावलले बताए । स्थानीयहरुका समस्या बुझ्ने र भोट माग्ने उद्देश्य सहित घरदैलो गरिरहेको उनले बताए । 

Atrya hospital

यस्तै एमालेले पनि १० ओटै स्थानीय तहका उम्मेदवारहरु घरदैलो अभियानमा जुटेको जनाएको छ । आफूहरुले प्रतिबद्धता पत्रमा उल्लेख गरेका कुराहरु कार्यान्वयन गर्ने भनेर मतदाताहरुसंग मत मागिरहेको दशरथचन्द नगरपालिकामा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार पुष्करराज जोशी (लख्खाभाइ)ले बताए । 

जिल्लाका सबै जसो ठाउँमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरुले घरदैलो अभियान सञ्चालन गरिरहेका माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीले बताए । चुनावी तालमेल भएका पालिकाहरुमा संयुक्त रुपमा चुनावी सभा र घरदैलो अभियान सञ्चालन भईरहेको उनले बताए । 

यस्तै जिल्लाका विभिन्न ठाउँमा चुनावी सभा सम्पन्न गरेको राप्रपाले घरदैलो अभियानमा तिव्रता दिएको राप्रपाका जिल्ला अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए । 

जिल्लाका केही स्थानीय तहहरुमा दलहरुले चुनावी तालमेल गरेका छन् भने केही स्थानीय तहमा एक्लै चुनावी मैदानमा रहेका छन् । दलहरुले चुनावी सभाका साथै घरदैलो अभियानमा तीव्रता दिएका छन् । 

यस्तै जिल्लामा स्वतन्त्र उम्मेदवारहरुले पनि चुनावी अभियानलाई आक्रामक बनाएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवारहरुले सांगितीक कार्यक्रम सहित चुनावी सभा गर्ने भएका छन् ।  
 

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १४:१६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update