Sagun Khabar
बैतडीको दनपामा कसले मार्ला बाजी ? 

बैतडी –आसन्न स्थानीय तहको निर्वाचनमा बैतडीको दशरथचन्द नगरपालिकाको नेतृत्व लिनका लागि पाँच जना मेयर पदको दौडमा रहेका छन् । 

जिल्लाको पुरानो र सदरमुकामस्थित नगरपालिकाको नेतृत्व कसको हातमा जाला अहिले यो प्रश्न निकै महत्वका साथ हेरिएको छ । 

यो नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसबाट गजेन्द्रसिंह रावल, एमालेबाट पुष्करराज जोशी (लख्खाभाइ), माओवादी केन्द्रबाट प्रेमसिंह थापा, राप्रपाबाट चन्द्रसिंह थापा र स्वतन्त्रबाट दिपकराज शर्मा चुनावी मैदानमा छन् ।

Atrya hospital

यो नगरपालिकामा नेपाली कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । २०४७ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा लागेको गजेन्द्रसिंह रावल आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन् । 

नेपाली कांग्रेसको दशरथचन्द नगरसभापति समेत रही सकेका रावलले गएको स्थानीय तहको निर्वाचनमा दशरथचन्द नगरपालिका वडा नं ६ मा वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । 

गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका नरेन्द्रसिंह थापासंग ६२ मतले मात्रै नगरप्रमुख पराजित भएका पुष्करराज जोशी (लख्खाभाइ) यो चुनावमा जित निकाल्ने रणनीति सहित चुनावी मैदानमा छन् । 

अखण्ड सुदूरपश्चिमको आन्दोलनबाट चर्चामा आएका जोशी ७४ सालमा भने राप्रपाबाट चुनाव लडेका थिए । चुनावमा पराजित भएको केही समयपछि उनी एमालेमा प्रवेश गरेका थिए । एमाले ठूलो पार्टी भएकै कारण चुनाव जित्न सक्ने जोशीको आँकलन छ । 

यता शिक्षक पदबाट राजीनामा दिएर राजनीतिमा होमिएका प्रेमसिंह थापा माओवादी केन्द्रबाट मेयर पदका लागि चुनावी मैदानमा छन् । एकीकृत समाजवादीसंग दशरथचन्दमा चुनावी तालमेल गरेको माओवादीले चुनाव जित्ने बताईरहेको छ । तर नगरपालिकाभित्रै उसको संगठन कमजोर भएकाले उसलाई चुनाव जित्न त्यति सहज देखिदैन् । आफूसंग नयाँ कार्ययोजना भएकाले आफूले चुनावमा जित हासिल गर्ने नेकपा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार प्रेमसिंह थापाले बताए । 

यस्तै राप्रपाका चन्द्रसिंह थापा पनि चुनावी मैदानमा छन् । हिन्दू राज्यको अवधारणा सहित आफू चुनावी मैदानमा उत्रेको उनी बताउँछन् । व्यक्ति भन्दा पनि एजेण्डका आधारमा आफू चुनावमा होमिएको उनको भनाई छ । गएको स्थानीय तहको निर्वाचनमा राप्रपाबाटै लख्खाभाइले धेरै मत प्राप्त गरेकाले पनि थापा चुनावमा जित हाँसिल गर्ने दाबी गर्छन् । 

दलीय सिण्डीकेटलाई चुनौती दिँदै दशरथचन्द नगरपालिकाको मेयरमा स्वतन्त्रबाट दीपकराज शर्मा पनि चुनावी मैदानमा छन् । दलहरुले खासै काम नगरेकाले आफू चुनावी मैदानमा होमिएको उनी बताउँछन् । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  ०८:२८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update