Sagun Khabar
बैतडीका वडा अध्यक्ष, जो पालिका हाक्ने दौडमा छन् 

बैतडी –आसन्न स्थानीय तहको निर्वाचनमा बैतडीका चार जना वडा अध्यक्ष पालिका हाक्ने दौडमा रहेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट वडा अध्यक्षमा निर्वाचित भएका चार जना पालिका प्रमुखका लागि चुनावी मैदानमा रहेका छन् । 

जिल्लाको दशरथचन्द नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका गजेन्द्रसिंह रावल यसअघि वडा नं ६ का वडा अध्यक्ष थिए । गएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका रावल राम्रो काम गरेकै कारण पार्टीले मेयर पदका लागि टिकट दिएको दाबी गर्छन् । उनले भने ‘वडा अध्यक्ष भएर राम्रो काम गरेकै हुनाले मलाई मेयरका लागि पार्टीले टिकट दिएको हो । नागरिकको अभिमत पाएर उत्कृष्ट मेयरको रुपमा काम गर्छु ।’

Atrya hospital

दशरथचन्द नगरपालिकालाई नमूना बनाउने योजना सहित आफू चुनावी मैदानमा उत्रेको रावलले बताए । वडा अध्यक्षको अनुभवबाट समेत आफूलाई काम गर्न सहज हुने उनको भनाई छ । दशरथचन्द नगरपालिकाको समग्र विकासका लागि आफूले पहल गर्ने उनले बताए । 

जिल्लाको सुर्नया गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार गजेन्द्रबहादुर चन्द पनि उपचुनावबाट सुर्नया गाउँपालिका वडा नं १ को वडाअध्यक्षमा निर्वाचित भएका थिए । अहिले उनी पालिका अध्यक्षको उम्मेदवार भएर भोट मागिरहेका छन् । पार्टीले आफूले गरेको योगदान र नागरिकसंगको सम्बन्धका आधारमा टिकट दिएको उनको दाबी छ । उनले भने ‘पालिका अध्यक्षमा निर्वाचित भएमा नागरिकको इच्छा अनुसार काम गर्नेछु । नागरिकको अभिमतलाई खेर जान दिने छैन् ।’

यस्तै डिलाशैनी गाउँपालिका वडा नं १ का वडा अक्कल राना पनि गाउँपालिका अध्यक्ष पदका लागि चुनावी मैदानमा छन् । एमालेले उनलाई पालिका अध्यक्षको उम्मेदवार बनाएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेबाटै वडा अध्यक्षमा निर्वाचित भएका राना गाउँपालिकाको प्रवक्ता समेत रहेका थिए । पार्टीले रुचाएकै कारण आफूले टिकट पाएको उनी दाबी गर्छन् । 

तर पालिका अध्यक्षको लागि पार्टीले टिकट नदिएको भन्दै सन्तोषप्रकाश जोशी विद्रोह गर्दै स्वतन्त्रबाट पालिका अध्यक्षको दौडमा रहेका छन् । 

यस्तै शिवनाथ गाउँपालिका वडा नं २ का वडा अध्यक्ष हजारी साउँद पनि अहिले एमालेको तर्फबाट पालिका अध्यक्षको उम्मेदवार बनेका छन् । एमाले फुटेको समयमा एकीकृत समाजवादीमा रहेका साउँद चुनाव नजिक आएपछि एमालेमै फर्किएका थिए । अहिले उनी एमालेबाट शिवनाथ गाउँपालिकाको अध्यक्ष पदका लागि चुनावी मैदानमा रहेका छन् । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १४:५५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update