Sagun Khabar
विश्व हिन्दू महासंघका उपाध्यक्ष साउँदद्वारा एक लाख बराबरको खाद्यान्न सहयोग 

बैतडी –शिवांश हेल्प फाउण्डेसनले बैतडीमा सञ्चालन गरेको खाद्यान्न सहयोग अभियानमा विश्व हिन्दू महासंघका बरिष्ठ उपाध्यक्ष ज्योत्सना साउँदले एक लाख बराबरको खाद्यान्न सहयोग गरेकी छन् ।  कोरोना कहरका कारण समस्यामा परेका नागरिकलाई खाद्यान्न सहयोग गर्न सञ्चालन गरिएको अभियानमा साउँदले एकलाख बराबरको खाद्यान्न सहयोग गरेको शिवांश हेल्प फाउण्डेसनका अध्यक्ष महेश अवस्थीले बताए । 

शिवांश हेल्प फाउण्डेसन मार्फत सञ्चालन गरिएको अभियानमा दुई लाख बढीको खाद्यान्न वितरण गरिने उनले बताए । उनले भने ‘कोरोनाका कारण समस्यामा परेका नागरिकलाई केही सहयोग होस भनेर हामीले फाउण्डेसन मार्फत अभियान सञ्चालन गरेका हौं । यसमा धेरै व्यक्तिले सहयोग गर्नुभएको छ ।’

Atrya hospital

जिल्लाका विभिन्न स्थानीय तहमा रहेका कमजोर आर्थिक अवस्था भएका परिवारलाई खाद्यान्न वितरण गरिने बताइएको छ । प्रत्येक स्थानीय तहमा २१ परिवारलाई २५ केजी चामल वितरण गर्ने हिसाबले तयारी भईरहेको अवस्थीले बताए । ‘हामीले यो अभियान मार्फत एउटा पालिकाका २१ अतिविपन्न परिवारलाई प्रति परिवार २५ केजीका दरले चामल वितरण गर्ने तयारी गरेका छौं ।’

स्थानीय तहसंगको समन्वयमा प्रत्येक स्थानीय तहमा चामल पठाइने अवस्थीले बताए । कोरोना कहरका कारण कतिपय मजदुर वर्गको चुल्हो समेत बल्न नसकेकाले उनीहरुलाई थोरै भएपनि सहयोग पुर्याउन यो अभियान सञ्चालन गरिएको उनले बताए । 

शिवांश हेल्प फाउण्डेसनले सञ्चालन गरेको अभियानमा विभिन्न ठाउँबाट सहयोग प्राप्त भएको बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update