Sagun Khabar
बैतडीमा बजार अनुगमन, सात व्यापारीमाथि कारवाही 
फोटो :बजार अनुगमन क्रममा अखाद्य तेल बरामद गरी नष्ट गर्दै प्रहरी 

बैतडी–बैतडीमा कोरोना कहरकाबीचमा खाद्य वस्तुको मूल्य बढाउने व्यापारीमाथि स्थानीय प्रशासनले अनुगमन गरेर कारवाही गर्न थालेको छ । खाद्यवस्तुको मूल्य बढाएको बिषयमा गुनासो आउन थालेपछि प्रशासनले आकस्मिक अनुगमन थालेको छ ।

जिल्लाको सतबाँझ, मुस्याचोर, गुरुखोला र देहीमाण्डौमा अनुगमन गर्दा कालोबजारी गर्ने व्यापारीहरुलाई कारवाही गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । उनले भने ‘महामारीको समयमा खाद्य वस्तुको मूल्य बढाएको भन्ने कुरा सुनिएपछि हामीले आकस्मिक अनुगमन गरेका छौं । यो अभियानलाई निरन्तर अगाडि बढाउनेछौं ।’

जिल्ला प्रशासन कार्यालयका अनुसार अहिले सम्म ७ व्यापारीहरुलाई जरीवाना गरिसकिएको छ । उनीहरुलाई स्थलगत अनुगमनकै क्रममा जरीवाना गरिएको सूचना अधिकारी भारतीले जानकारी दिए । महामारीको समयमा मूल्य बढाएका व्यापारीहरुमाथि जरीवाना गरिएको हो ।

Atrya hospital

सतबाँझ र मुस्याचोरका व्यापारीहरुलाई संक्रामक रोग ऐन २०२०को दफा ३ अनुसार जरीवना गरिएको छ । उनीहरुलाई सात दिनको म्याद दिएर दुई हजार एक सयका दरले जरीवाना गरिएको सूचना अधिकारी भारतीले बताए । 

यस्तै आइतबार देहीमाण्डौंका तीनओटा पसलमा अनुगमन गर्दा अखाद्य वस्तु भेटिनुका साथै मूल्यसूची नराखेको, खरीद बील नराखेको पाइएकाले जरीवना गरिएको छ । उनीहरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ खण्ड (१) र सोही ऐनको दफा ३९ को उपदफा १ खण्ड (क) अनुसार ५ हजारका दरले जरीवाना गरिएको बताइएको छ । 

महामारीको समयमा कालोबजारी गरेको भन्ने जनगुनासोको आधारमा आकस्मिक अनुगमन गर्दा व्यापारीहरुले कालोबजारी गरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिए । उनले भने ‘महामारीको समयमा कालोबजारी नियन्त्रणका लागि हामीले बजार अनुगमन गरेका हौं ।’

अनुगमनका क्रममा धेरै जसो पसलमा मूल्य सूची नराखेको, खरीद बील नभएको, अखाद्य वस्तु विक्रि गर्ने गरेको पाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले बताए  । 

जिल्लाका कुनै स्थानमा कालोबजारी भईरहेको पाइएमा जानकारी गराउन समेत प्रशासनले आग्रह गरेको छ । महामारीको समयमा कालोबजारी गर्ने, अखाद वस्तुहरु विक्रि गर्नेहरुमाथि कानुन अनुसार कारवाही हुने उनले बताए । 

बजार अनुगमनका क्रममा सतबाँझमा रहेको वासुलिंग एण्ड डोडेश्वर जनरल स्टोर, मुस्याचोरमा रहेको सागर एण्ड मनोज किराना पसल, जयदुर्गे मेडिकल हल,न्यू निङ्गलाशैनी महारुद्र ट्रेडर्स, देहीमाण्डौंमा रहेको न्यू निङ्गलाशैनी जनरल स्टोर,जगदम्बा ग्वाल्लेक किराना पसल र एम एन ट्रेडर्सलाई कारवाही गरिएको हो ।  
 

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update