१. बहराइनबाट म एक घण्टामा दुबई पुगें र त्यहाँबाट छ घण्टामा काठमाडौँ झरें । काठमाडौँमा ल्याण्ड नहुन्जेलसम्म मैले कोभिडको नयाँ लहरको समाचार सुनेको थिएँन । नयाँ भेरियण्टको बारेमा केही कुराहरु त सुनेको थिएँ तर नेपालमा पनि यति धेरै फैलिसकेको कुरा भने थाहा थिएन । बहराइनमा म कम्पनी भित्रै ब्यस्त हुन्थें । फुर्सदमा इन्टरनेट चलाउँथे । त्यो समयमा समाचार भन्दा पनि परिवार र आफन्तसँग कुरा गर्नमा ब्यस्त हुन्थें ।
करिब दुई वर्षपछि म नेपाल आउंदै थिएँ । एयरपोर्ट पनि पुरै बदलिएछ । एयरपोर्टबाट म सिधै घट्टेकुलोतिर लागेँ । त्यहाँ मेरा बाआमा बस्नु हुन्थ्यो । साथमा मेरा छोराछोरी पनि थिए जो त्यहींको स्कुलमा पढ्थे । श्रीमती भने धनगढीमा शिक्षक थिइन् । मैले सोचेको थिएँ, केहि दिन छोराछोरी र बाआमासंग बस्छु त्यसपछि धनगढी जान्छु । तर त्यसो सम्भव भएन । कोभिडको बढ्दो छापका कारण सरकारले भोलिदेखि नै निषेधाज्ञा सुरु गर्ने भएछ । लौ बर्बाद ! धनगढी जान नपाइएला जस्तो भयो ।
मैले आज नै धनगढी जानु पर्ने भयो । घट्टेकुलोमा एक छिन भेटघाट गरेर मा सिधै बसपार्क तिर लागेँ । बसपार्कको स्थिति भयावह थियो । मानिसहरु गाडी नपाएर छटपटाइरहेका थिए । धेरै जसो त सुदूरपश्चिमकै मान्छेहरु देखिरहेको थिएँ । त्यसमा पनि धनगढी र महेन्द्रनगर जाने बढी थिए । कोहि भने सुदूरपश्चिम जाने गाडी नपाएर कोहलपुरसम्मको मात्र टिकट काट्दै थिए । यत्तिकैमा एकजना भाइले “दाइ, धनगढी जाने हो” भनेर सोध्यो । मलाई देउता मिले जस्तो भयो । मैले सिट खाली छ भनेर सोधेँ । त्यो भाइले सिट खाली त छैन तर भित्र ग्यालरीमा राम्रो व्यवस्था छ भन्यो । कुन गाडी हो भन्दा उसले हल्का निलो रंगको गाडी देखायो । यस्तो गाडी त धनगढी गएको मैले कहिले पनि देखेको थिएँन । नयाँ गाडी हो कि भनेर सोधेँ । उसले यो काठमाडौँमै चल्ने लोकल गाडी भएको तर आज सुदूरपश्चिम जाने पेसेन्जरहरु धेरै भएकोले उतै जान लागेको कुरा बतायो । यो सुनेर मैले त्यस गाडीका संचालकहरुलाई मनमनै धन्यवाद दिएँ र गाडी भित्र पसें । मैले सिट त पाएन तैपनि जसोतसो धनगढी पुगियो । त्यहाँ पुगेर श्रीमतीलाई सारा कुरा सुनाउँदा उसले त्यो गाडीलाई थ्यान्क्यू भनि । मेरो तर्फबाट पनि थ्यान्क्यू मयूर यातायात ।
२. अंग्रेजीमा एम्. एड्. गरेपछि मलाई रामेछापको एउटा सामुदायिक विद्यालयमा पढाउने मौका मिल्यो । मन्थलीबाट तीन चार घण्टा गाडीमा गएपछि पुगिने त्यो ठाउँमा पढाउन मलाई रमाइलो लागेको थियो । देशभरि फैलिरहेको कोभिडको नयाँ भेरियण्टका कारण विद्यालयहरु बन्द हुँदै थिए । यस्तैमा मैले पनि घरतिर जाने योजना बनाएँ । मेरो घर बैतडीको पुरचौंडीमा पर्छ जहाँ मेरा आमाबुवा र श्रीमती बस्छन् । विद्यालयबाट अनुमति पाएपछि म बिहानै काठमाडौँतिर लागेँ । साँझ पाँच बजे काठमाडौँ बसपार्क पुग्दा सुदूरपश्चिम जाने कुनै पनि गाडीमा सिट खाली थिएन । अघिल्लो पालीको लकडाउनमा पनि यस्तै स्थिति भएको र त्यसबेला केही लोकल गाडीहरुले यात्री ओसारपसार गरेको कुरा मलाई एक जना भाइले भनेको थियो । नभन्दै मैले केही लोकल गाडीहरु बसपार्कको दायाँतिर लाइन लागेर बसेको देखेँ । तिनीहरु सबै सुदूरपश्चिम जाने यात्रीहरुले भरिएका थिए । म पनि एउटा गाडीभित्र गएँ । मास्क लगाएका यात्रीहरुको अनुहार ढाकिएको भए पनि उनीहरुको आँखामा एक प्रकारको हैरानी देखिन्थ्यो । भाग्यवश मैले एउटा सिट भेट्टाएं । सधैं चक्रपथभित्र चल्ने गाडी त्यो दिन थानकोट हुँदै उपत्यका बाहिर लाग्यो । महामारीको बेला अलपत्र परेका र घर जान चाहने यात्रीहरुलाई गन्तब्यसम्म पुर्याउने यो गाडीलाई सलाम छ । म जस्ता सयौं यात्रीहरुको उद्धार गर्ने मयूर यातायातलाई धन्यवाद ।
३. धनगढीमा उपचार हुन नसकेपछि त्यहाँको अस्पतालले मेरी आमालाई कोहलपुर रिफर ग¥यो । एक दिन कोहलपुरमा बसियो तर कुनै उपलब्धि हुन सकेन । अन्त्यमा म आमालाई काठमाडौँ लिएर गएँ । पन्ध्र दिन जति उहाँ अस्पतालमा बसेपछि अलि सन्चो हुनुभयो । जब घर जाने दिन आयो कोरोनाको दोस्रो लहरले छोप्यो । उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा सुरु हुने समाचार आयो । काठमाडौँमा कोही आफन्त नभएकोले आमालाई जसरी पनि घर पुर्याउनु पर्ने भयो । ६७ वर्षीय आमालाई डो¥याउँदै म काठमाडौँ बसपार्कमा गाडी खोज्न थालेँ । गाडी भेटिने कुनै चान्स थिएन । सुदूरपश्चिमबाट आएका थप गाडीहरु पनि भरिसकेका हल्ला फैलिएको थियो । दिनभरि गाडी नपाएर म आत्तिएँको थिएँ । के गर्ने र कसो गर्ने स्थितिमा पुगेको बेला मैले त्यहींको लोकल गाडी पनि सुदूरपश्चिम गइरहेको देखेँ । ती गाडीमा पनि मानिसहरु खचाखच भरिएका थिए । आमालाई एउटा सिट मिलाउन पनि धौ धौ प¥यो । अबेर सांझसम्ममा हामीले सिट पायौं । गाडी बिस्तारै बसपार्क बाहिर निस्क्यो । जाम पनि जिकि थियो । थानकोट पुग्न नै हामीलाई छ घण्टा जति लाग्यो । दुई दिन लगाएर हामी अत्तरिया पुग्यौं । आमाले खुशीको सास फेर्नुभयो र मयूर यातायातलाई आशिर्वाद दिनुभयो ।
४. म स्नातक तह चौथो वर्षको परीक्षा दिंदै थिएँ । कोरोना महामारीका कारण टी. यू. ले सबै परीक्षा स्थगित गर्ने सूचना निकालेपछि म जस्ता हजारौं विद्यार्थीहरु परीक्षा दिनबाट वन्चित भए । म कीर्तिपुरमा बस्दै आएको थिएँ । निषेधाज्ञा सुरु हुने कुरा चलेपछि मैले घर जाने निधो गरें । घरबाट पनि काठमाडौँ बस्नु भन्दा घर आउनु नै बेश भन्ने सुझाव आएपछि म झोला बोकेर बसपार्कतिर लागेँ । एक जना साथी बिहानै देखि बसपार्क मै थियो । सुदूरपश्चिमको कुनै पनि टिकट नपाएपछि कोहलपुरसम्मको टिकट काटेको कुरा उसले मलाई बतायो । म सा¥है अलमलमा परें । बिहानी देखि बसपार्क आएका साथीहरुले त टिकट पाएका थिएनन्, मैले पाउने कुरै भएन । गाडीवाला पनि कसैलाई चिनेको थिइन । एक दुई जनालाई त टिकट मिलैदिनको लागि सहयोग मागेको थिएँ । तर अहिलेको यो परिस्थितिमा टिकट मिल्न गाह्रै थियो । दशैँ तिहारको बेलामा जस्तो भीड थियो । ७०÷८० हजार मानिसहरु उपत्यका बाहिर गइसकेका समाचारहरु अनलाइनमा पढ्न पाइन्थ्यो । यो महामारीले एकपटक फेरि सबैलाई त्रसित पारेको थियो । कुनै गाडीमा पनि टिकट नपाएपछि मैले काठमाडौँमै चल्ने एउटा लोकल गाडी अत्तरिया जान तयार भएको देखेँ । त्यसमा पनि सबै सिटहरु भरिएका थिए । गाडी स्टाफलाई भनेर क्याबिनमा एउटा साँघुरो स्थानमा बस्ने व्यवस्था मिलाएँ । अत्तरियासम्म पुगेपछि त त्यहाँबाट दिपायल जान त्यति अफ्ट्यारो थिएन । भोलिपल्ट सकुशल अत्तरिया पुगें । र त्यहाँबाट अर्को गाडीमा दिपायल आएँ । मयूर यातायातले गर्दा आज म घरमा छु, धन्यवाद तिमीलाई ।
५. महाकाली पारिका गाउँ भनेर चिनिने दोधारा चांदनीमा मेरो घर छ । केही वर्षदेखि काठमाडौँको एउटा रेस्टुरेन्टमा कुकको जागिर गर्दै आएको थिएँ । कोभिडको दोस्रो लहरका कारण सम्पूर्ण होटल व्यवसायहरु बन्द हुने भएपछि मैले पनि घर जानु पर्ने भयो । तर टिकट पो कसरि मिलाउने हो ? मेरो एक जना साथी बसपार्कतिर काम गर्छ । उसलाई फोन गरेर टिकटको केही व्यवस्था गर् भने । म रेस्टुरेन्टबाट हिड्ने बेलामा साथीले फोन ग¥यो । उसले भने अनुसार महेन्द्रनगर मात्र होइन सुदूरपश्चिम जाने कुनै गाडीमा सिट खाली थिएन । तर एउटा समाधान भएको कुरा उसले बतायो । काठमाडौँमै चल्ने लोकल गाडी सुदूरपश्चिम जाने यात्रीहरु बोकेर गइरहेको कुरा उसले भन्यो । एउटा सिट मेरो लागि मिलाइदेऊ भनेर उसलाई अनुरोध गरें । अत्तरियासम्मको टिकट काटेर उसले मेरा लागि एउटा सिट बुक गरिदियो । बसपार्क पुगेपछि मैले निकै डरलाग्दो भीड देखेँ । ओहो ! महामारीका बेला यत्तिका मानिसहरु बाहिर ! पक्कै पनि उनीहरुका आ–आफ्नै समस्या होलान् । मैले साथीलाई भेटेर टिकट लिएँ र गाडीमा बसें । लोकल रुटमा चल्ने गाडी भएर पनि सुदूरपश्चिम जाने यात्रीहरुको सहयोगका खातिर अत्तरियासम्म जान लागेको मयूर यातायातलाई धन्यवाद नदिइ रहन सकिन ।
६. धनगढीको हसनपुरमा मेरो एउटा मोबाइल पसल छ । पसलको लागि केही सामानहरु ल्याउन भनि म केही दिनका लागि काठमाडौँ आएको थिएँ । सामान पुरै किन्न नपाउँदै महामारीका कारण गाडी बन्द हुने सुचना आयो । जे जति सामान किनेको थिएँ त्यति मात्र बोकेर म धनगढी वापस जान भनि बसपार्क गएँ । त्यहाँको माहोल धेरै भिडभाडयुक्त थियो । धनगढी जाने र सुदूरपश्चिम जाने अन्य गाडीहरु पुरै भरिएका थिए । कुनैमा पनि सिट खाली थिएन । मोवाइल सामानको झोला बोकेर यताउता गर्दागर्दै दिन बित्यो । टिकट पाउने कुनै छाँट नै देखिएन । साँझतिर केही लोकल गाडीहरुले सुदूरपश्चिमतिरका पेसेन्जरहरु बोकेर जान लागेको देखेँ । एउटामा म पनि बसें । बल्लतल्ल सिट मिल्यो । लोकल गाडीले पनि लामो दूरीको सुविधा दिएकोमा खुशी लाग्यो । काठमाडौँको जाम छिचोल्दै अर्को दिन म धनगढी पुगें । महामारीको यस्तो अवस्थामा सबैलाई समस्या परेको बेला सेवा प्रदान गर्ने मयूर यातायातलाई धन्यवाद छ । अरु गाडीका संचालकहरुले पनि यस्तो कुराको सिको गरुन् ।
७. प्रहरीमा जागिर खाएको छ वर्षपछि मेरो विवाहको तयारी भइरहेको थियो । घरका मानिसहरु सबै तयार थिए । दुवै पक्षका परिवारले विवाहको मिति पनि तोकिसकेका थिए । तर कोभिड महामारीले गर्दा घर नै जान नसकिने अवस्था आउंदै थियो । अफिसमा जसोतसो बिदा मिलाएँ हामी जस्ता प्रहरी जवानलाई बिदा मिल्न गाह्रै हुन्छ । तैपनि विवाह भने पछि बल्लबल्ल एक महिनाको बिदा स्वीकृत गराएँ । घर जान त तयार थिएँ तर अवस्था साह्रै डर लाग्दो थियो । बसपार्कमा सबै गाडीहरु प्याक थिए । सुदूरपश्चिम जाने गाडीहरुमा टिकट पाउन झनै मुश्किल थियो । दिनभरि बसपार्कमा कुर्दा पनि गाडी भेटिएन । अन्त्यमा काठमाडौँमै चल्ने लोकल गाडी पनि सुदूरपश्चिम गइरहेको कुरा थाहा पाएँ । त्यसैमा टिकट काटें । गाडी मानिसहरुले पुरै भरिएको थियो । सिटमा मात्र हैन बीच ग्यालरिमा पनि मानिसहरु टनाटन थिए । ठूलो झोलालाई डीक्कीमा र सानोलाई काखमा राखेर म मेरो सिटमा बसें । मेरो छेउको सिटमा बस्ने व्यक्ति अन्दाजी ४० वर्षका थिए । उनि भन्दै थिए, “यो गाडीले गर्दा घर पुगिने भयो । गाडी संचालकहरुलाई धन्यवाद भन्नै पर्छ ।” उनि ठिक भन्दै थिए । मयूर यातायातलाई मनै देखि नमन गर्न चाहन्छु ।
⃰ ⃰ ⃰
वैशाख मध्यतिर कोभिडको नयाँ लहरले पुरै देशलाई हल्लायो । विशेष गरि शहरी क्षेत्रहरुलाई यसले नराम्ररी गाज्यों । काठमाडौँमा निषेधाज्ञा जारि हुने भएपछि धेरै व्यक्तिहरु बाहिरीए । माथि उल्लेखित केही उदाहरण मात्रै हुन् । त्यस दिन काठमाडौँ बसपार्कको परिदृश्य भयानक थियो । सुदूरपश्चिम जाने धेरै मानिसहरुलाई मयूर यातायातका सातवोटा गाडीले उद्धार गरेको थियो । यसै कोर्टेसी नोट मार्फत् उक्त गाडीका संचालकहरुलाई धन्यवाद भन्न चाहन्छु । थ्यान्क्यु मयूर यातायात ।
(लेखक अंग्रेजी बिषयका शिक्षक हुन् ।)