काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेशले विकास निकै ठूलो फड्को मारेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित सुदूरपश्चिमाञ्चल सरोकार समाजको सधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले अझै धेरै समस्याहरू यथावत् भएपनि सुदूरपश्चिमले विकासको हिसाबले ठूलो फड्को मारेको बताए ।
आफूले एसएलसी गरेर काठमाण्डौं पुग्न भारतको बाटो प्रयोग गरेको बताउँदै उनले अहिले अवस्था फेरिएको बताए । यातायात र अन्य हिसाबले अहिले पहिलाको जस्तो दुःख नभएको प्रधानमन्त्री देउवाको भनाई छ ।
प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा विकासका थुप्रै सम्भावनाहरुसँगै गरिबीको समस्या कायम रहेको बताए । सुदूरपश्चिमको गरिबी अझै नहटेको उनले बताए ।
उनले सुदूरपश्चिमको गरिबी र अशिक्षा हटाई समग्र सुदूरपश्चिम प्रदेशको विकासका लागि अझै पनि सबै क्षेत्रबाट पहल हुनु आवश्यक रहेको बताए । प्रधानमन्त्री देउवाले सम्भावनाअनुसार लगानी भए सुदूरपश्चिम मुलुककै धनी प्रदेश बन्न सक्ने बताए ।