Sagun Khabar
गुरु पूर्णिमा मनाइँदै

काठमाण्डाै – आज गुरु पूर्णिमा । असार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइन्छ ।     

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । 

यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–

Atrya hospital

‘गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर : ।

गुरु: साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम : ।।’   

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । 

यस्तै आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । 

व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोज्नुभएको छ–

‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।

परोपकार पुण्याय, पापाय परपीडनम्’ ।।

अर्थात् अरूको उपकार गरे धर्म हुन्छ एवम् अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो । 

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update