कैलाली –सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९÷८० का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेशसभाको दोस्रो बैठकबाट बजेट बहुमतले पारित भएको हो । प्रतिपक्षी दल एमाले र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरु बाहेक अन्यले बजेटको पक्षमा मत दिएका छन् ।
एमाले र जसपा सांसदले भने विपक्षमा मत दिएका थिए । असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले अगामी आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । तर प्रतिपक्षी एमालेसँगै सत्तारुढ दलका प्रदेशसभा सदस्यहरुले बजेट संशोधनको माग गरेपछि २८ दिनसम्म प्रदेशसभा बैठकमा अवरुद्ध हुँदै आएको थियो ।
बुधबार एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक जनता समाजवादी पार्टीका माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको भन्दै १४ बुँदे सहमति गरेपछि प्रदेशसभा बैठक सुचारु भएको थियो । बजेट एकदिन मात्रै छलफल गरेर रातारात पारित गरिएको हो ।