बैतडी –बैतडीका सामाजिक अभियान्ता एवं मानवअधिकारकर्मी राजुराम भुललाई प्रकाश मानव अधिकार पुरस्कार प्रदान गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका संस्थापक स्व. प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको प्रकाश मानव अधिकार पुरस्कार हरेक बर्ष प्रदान हुँदै आएको छ ।
२८ औं प्रकाश मानव अधिकार पुरस्कार बैतडीका राजुराम भुललाई प्रदान गर्ने निर्णय भएको र सोही अनुसार पुरस्कार प्रदान गरिएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ । नेपालको मानव अधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिकलगायतका क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई “प्रकाश स्मृति दिवस” को अवसर पारेर पुरस्कृत गर्ने गरिन्छ । यो पुरस्कारबाट यसअघि २७ जना सम्मानित भइसकेको इन्सेकले जनाएको छ ।
सोमबार काठमाण्डौंमा आयोजना गरिएको एक कार्यक्रममा भुललाई पुरस्कार प्रदान गरिएको हो । २०३३ सालमा बैतडीको दशरथचन्द नगरपालिका ४ भुल्यौडामा जन्मेका भुलले हलियाप्रथा अन्त्यका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै इन्सेकले उक्त पुरस्कार प्रदान गरेको हो ।
हलियामुक्ति आन्दोलनका अगुवा भुल २०६४ सालमा राष्ट्रिय मुक्त हलिया समाज महासंघका अध्यक्ष समेत बनेका थिए । सरकारले २०६५ साल भदौ २१ गते हलियामुक्तिको घोषणा गरेको थियो । सरकारी घोषणापछि सुदूर तथा कर्णाली प्रदेशका हजारौ हलियाहरु मुक्त भएका थिए ।
अझै पनि मुक्त हलियाहरुको न्यायिक पुनस्र्थापना हुन बाँकी रहेको भुलले बताए । मुक्त हलियाहरुको न्यायिक पुनस्र्थापनाका लागि सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए । पुरस्कार प्राप्तिपछि सगुनखबरसंग कुराकानी गर्दै उनले सामाजिक विभेद अन्त्य र मानव अधिकार रक्षाका लागि आफू सदैव लागिपर्ने उनले बताए ।