बैतडी –११ दिन सम्म भोकाएका १०६ बर्षिय बृद्धा आमा मकै गोड्दै गरेको अवस्थामा भेट्टायौं । सुख के लाई भन्ने ? मानमति देवि तिरूवा लाई सोद्धा म भन्दा दुखि कोही छैनन भन्नुहुन्छ ।
‘४ ओटा छोरी अकालमै गुमाएको पिडा बिर्सिदै थिए , फेरि अर्को पीडा थपियो जवान २ जना छोराले झुन्डिएर आत्महत्या गरे , ६५ बर्षको उमेरमै श्रीमानको मृत्युु भयो , अहिले १ छोरा मात्र बाँकी छ । त्यो छोराले पनि मलाई हेर्दैन , अलग्गै बस्छु, खाना छैन बस्ने घर छैन रातभरि निन्द्रा लाग्दैन एक्लै सोच्दा सोच्दै रात बित्छ , कहिले काहिँ त पेट दुखेर रातभरि छट्पटी हुन्छ अहिले नै मरिहाल्छु झै लाग्छ तर के भयो भनेर सोध्ने मान्छे हुदैनन् ।’ उनले भन्दै गइन् ‘यो कठीन जीवन जिउनुभन्दा प्राणले छोडिदिए झै लाग्छ तर जस्तो दुख भए पनि मर्न नसकिदो रहेछ । चुहिने घर छ त्यसैको पनि ढोका लाग्दैन बृद्ध भत्ता पायो भने सामान ,पैसा राख्छु तर कसले चोरेर लग्छ थाहा छैन । मलाई दलित भएकै कारण झन पीडा भोग्नुपरेको छ ।’
शिवांश हेल्प फाउण्डेसनको टीमले आमाको यो पीडा थाहा पाए पछि खाद्यान्न सहयोग गर्न घरमै पुग्यो । घरमा पुग्दा आमाले भन्नुभयो चामल त दिनुभयो बा, अब मेरो सार्है इच्छा मासु खाने छ , हामीले लकडाउनका कारण बन्द रहेको मासु पसल खोल्न लगाएर १ किलो मासु, खाने तेल ,१ बोरा चामल सहयोग गरेका छौ ।
सुख के हो थाहा छैन तर सुख खोज्न दौडिरहेका हामी सबै यो अवस्थामा पुग्छौ । त्यसैले सके सम्म आ–आफ्नो घरमा भएका बृद्धबृद्धाहरूलाइ माया तथा सम्मान गर्ने गरौ । यी १०६ बर्षिय आमा मानमति तिरूवा, दशरथचन्द न पा ४ साहिलेक बैतडीमा बस्नुहुन्छ । आमाको अन्तिम इच्छा नचुहिने एक कोठा बनाएर त्यसैमा मर्न पाए मेरो सबै इच्छा पूरा हुने थियो भनेको कुरा कानमा गुञ्जिरहेको छ तर के गर्नु त्यो बजेट हामीसंग भएन ।