Sagun Khabar
सुदूरपश्चिम प्रदेशसभामा ३८ लाख बढी नियम विपरीत खर्च 
Atrya hospital

कैलाली –महालेखाले सुदूरपश्चिम प्रदेशसभा सचिवालयले ०७७÷७८ मा पदाधिकारी र कर्मचारीको बैठकबापतको ३८ लाख ६ हजार खर्च नियमविपरीत गरेको जनाएको छ । महालेखा परीक्षकको प्रतिवेदन ०७९ को प्रदेशसभा सचिवालय अन्तर्गत बैठक खर्च शीर्षकमा सो रकम नियम विपरीत खर्च भएको जनाइएको छ । 

यस्तै, प्रदेशसभा सचिवालयले तीनवटा कार्यक्रममा दोहोरो खर्च गरेको पनि खुलेको छ । कार्यक्रममा सहभागीलाई खाना, खाजा, कोठा भाडा, स्टेसनरी, इन्धन, गाडी भाडालगायत शीर्षकमा सम्पूर्ण खर्च व्यहोरेर पुनः दैनिक भ्रमण भत्ताबापत ५ लाख ८१ हजार वितरण गरिएको औंल्याएको छ । महालेखाको प्रतिवेदनले उक्त रकम असुल गर्न र खर्चमा मितव्ययिता अपनाउन भनेको छ ।

प्रतिवेदनले ऐनविपरीत सत्तापक्षको सचेतक र विपक्षी दलको प्रमुख सचेतकलाई गाडी र चालक सुविधा उपलब्ध गराइएको भनेको छ । प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, ०७५ को व्यवस्थाविपरीत मन्त्रिपरिषद्ले सत्तापक्षको सचेतक र विपक्षी दलको प्रमख सचेतकलाई पनि सवारीसाधन, चालकलगायत सुविधा उपलब्ध गराइएको औंल्याएको छ । दुई पदाधिकारीका लागि दुईवटा गाडी खरिद गर्न एक करोड ६ लाख र चालकको पारिश्रमिक ९० हजार उपलब्ध गराइएको उल्लेख गरेको छ ।
 

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update