कैलाली –कैलालीको मोहन्याल गाउँपालिकाका छैठौं तहका अधिकृत दीपेन्द्र बुढा क्षेत्री विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । क्षेत्रीविरुद्ध ४४ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा चलाएको हो । आयोगले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा २०७९ साउन १ गते नियन्त्रण लिएको थियो।
आयोगका अनुसार, बुढाक्षेत्रीले सामानको बिल भुक्तानी गर्न सेवाग्राहीसँग घुस माग गरी १४ हजार रुपैयाँ बैंक खातामा ट्रान्सफर गर्न लगाएका थिए । त्यसअतिरिक्त आयोेगले ३० हजार रुपैयाँ अभियुक्तको साथबाट बरामद गरेको थियो ।
आयोगले बैंक ट्रान्सफर र बरामद रकमलाई बिगो कायम गर्दै जरिमाना र कैद सजाय हुने मागदाबीसहित अभियोगपत्र दायर गरेको हो ।
अदालतबाट घुस लिएको ठहरिएमा अभियुक्तले राज्यबाट पेन्सन सुविधा पाउने छैनन् ।