Sagun Khabar
दार्चुलाका स्थानीय तहमा असुल गर्नुपर्ने बेरुजु १ करोड ८ लाख 

बैतडी –दार्चुलाका स्थानीय तहहरुमा असुल गर्नुपर्ने बेरुजु रकम झण्डै १ करोड ८ लाख पुगेको छ । महालेखाको प्रतिवेदन अनुसार दार्चुलाका पालिकाहरुमा आर्थिक बर्ष २०७७÷७८ सम्म असुल गर्नुपर्ने बेरुजु रकम १ करोड ७ लाख ९५ हजार पुगेको छ । 

जिल्लाका ९ ओटा स्थानीय तहमध्ये सबैभन्दा बढी लेकम गाउँपालिकामा ३७ लाख ९३ हजार असुल गर्नुपर्ने बेरुजु छ भने सबैभन्दा कम नौगाड गाउँपालिकामा ११ हजार बेरुजु रकम रहेको छ । 

Atrya hospital

यस्तै जिल्लाको मालिकार्जुन गाउँपालिकामा १८ लाख ३२ हजार, शैल्यशिखर नगरपालिकामा १७ लाख ३६ हजार, व्याँस गाउँपालिकामा १७ लाख ६ हजार र महाकाली नगरपालिकामा ५ लाख ८९ हजार असुल गर्नुपर्ने बेरुजु रहेको छ । 

यस्तै मार्मा गाउँपालिकामा ४ लाख ७५ हजार, दुँहु गाउँपालिकामा ४ लाख ३३ हजार र अपिहिमाल गाउँपालिकामा २ लाख ३२ हजार बेरुजु रकम रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

महालेखा परीक्षकको प्रतिवेदनमा स्थानीय तहहरुमा आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको, प्राप्त अनुदानको पार्याप्त अनुगमन नगरेको, सेवा प्रवाहमा प्रभावकारिता नआएको उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update