Sagun Khabar
पश्चिम सेती र सेती नदी– ६ को सर्वेक्षण अनुमति एनएचपीसीलाई दिने सम्झौता

काठमाण्डौ – भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७ सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४ सय ५० मेगावाटको सेती नदी (एसआर)–६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको छ ।

बिहीबार काठमाण्डौमा भएको कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । लगानी बोर्ड नेपालले साउन २३ गते समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको थियो ।
समझदारीपत्रमा नेपालका तर्फबाट लगानी बोर्डका सीईओ सुशील भट्ट र भारतका तर्फबाट एनएचपीसीका अध्यक्ष तथा कार्यकारी निर्देशक अभयकुमार सिंहले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार एनएचपीसीले पश्चिम सेती जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमतिपत्रका लागि समझदारीपत्रमा हस्ताक्षर भएको मितिले ४५ दिनभित्र र सेती नदी–६ जलविद्युत् परियोजनाको लागि ६ महिनाभित्र आवेदन गर्नुपर्नेछ ।

Atrya hospital

सर्वेक्षण अनुमति पाएको दुई वर्षभित्र तोकिएका विषयहरू समेत समेट्ने गरी विस्तृत परियोजना अध्ययन गरी अध्ययन प्रतिवेदन लगानी बोर्डको कार्यालयमा पेस गर्नुपर्ने उल्लेख छ । 

कार्यक्रममा प्रधानमन्त्री देउवाले पश्चिम सेती र सेती नदी–६ ले सुदूरपश्चिमको आर्थिक र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान गर्ने बताए । उनले ४० वर्षदेखि चर्चामा रहेको आयोजना समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिए । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update