Sagun Khabar
दार्चुलामा भोलिदेखि खोप अभियान, २० हजार बढी बालबालिकालाई खोप दिइने 

बैतडी –दार्चुलामा भोलिदेखि बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप दिइने भएको छ । ५ बर्षदेखि ११ बर्ष सम्मका बालबालिकाहरुलाई भदौ ६ गतेदेखि १० गते सम्म फाइजर खोप दिइने र त्यसका लागि तयारी पूरा भएको स्वास्थ्य कार्यालयका दार्चुलका खोप निरीक्षक विरेन्द्र भट्टले जानकारी दिए । जिल्लाका २० हजार ३ सय ९२ बालबालिकाहरुलाई खोप दिने लक्ष्य रहेको उनले बताए । 

बालबालिका लक्षित खोप अभियानका लागि जिल्लाभरीका विद्यालय तथा स्वास्थ्य संस्थामा ४ सय २९ खोप केन्द्र तोकिएका छन् । खोप अभियानका लागि १५७ जना खोप कार्यकर्ता र ८ सय ९२ जना स्वयंसेवक खटाइएको खोप निरीक्षक भट्टले बताए । 

Atrya hospital

खोप अभियानका लागि सबै पालिकाहरुमा खोप पठाइसकिएको छ । दार्चुलामा पहिलो पटक ५ बर्षदेखि ११ बर्ष सम्मका बालबालिकाहरुलाई खोप दिन लागिएको हो । 

जिल्लाको महाकाली नगरपालिकामा सबैभन्दा बढी ४ हजार १४४ बालबालिकालाई खोप दिने लक्ष्य रहेको छ । यस्तै शैल्यशिखर नगरपालिकामा ३ हजार ६४६, मालिकार्जुन गाउँपालिकामा २ हजार ८९, नौगाड गाउँपालिकामा २ हजार ९२२ र मार्मा गाउँपालिकामा २ हजार ३५३ बालबालिकाहरुलाई खोप लगाउने लक्ष्य रहेको छ । 

यस्तै लेकम गाउँपालिकामा १ हजार ७९२, दुँहु गाउँपालिकामा १ हजार २४५, व्याँस गाउँपालिकामा १ हजार २४५ र अपिहिमाल गाउँपालिकामा ९०६ जना बालबालिकाहरुलाई खोप दिने लक्ष्य रहेको खोप निरीक्षक भट्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update