काठमाण्डौ – नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरिको पार्थिव शरीर पशुपतिनाथमा रहेको आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले त्यस अवसरमा उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान एवम् श्रद्धाञ्जली अर्पण गरे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आर्यघाट पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरे । त्यस अवसरमा नेपाल प्रहरीको एक टुकडीले स्व. गिरिप्रति सलामी अर्पण ग¥यो । स्व. गिरीलाई उनका छोरा सन्तोषले दागबत्ती दिए ।
गिरिको अन्त्येष्टिमा नेपाली कांग्रेसका केन्द्रीय समिति पदाधिकारी, मन्त्रीगण, सांसद, नेता तथा कार्यकर्ता, शुभेच्छु र समाजका विभिन्न क्षेत्रका व्यक्तिको पशुपति क्षेत्रमा बाक्लो उपस्थिति थियो । स्व. गिरिका श्रीमती र एक छोरा हुनुहुन्छ ।
ललितपुरमा रहेको मेडिसिटी अस्पतालमा उपचारार्थ रहेका सांसद गिरिको हिजो शनिवार राति निधन भएको हो ।
यसैबीच नेपाली कांग्रेसले स्व. नेता प्रदीप गिरिप्रति उच्च सम्मान प्रकट गर्दै यही भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । साथै पार्टीले शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक अरू सबै कार्यक्रम स्थगित गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आइतवार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले समाजवादी चिन्तक, पूर्वकेन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य गिरिको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
यसैगरी कांग्रेसले भदौ ६ गते सोमवार केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ औँ दिन (भदौ १६ गते) सम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
स्वर्गारोहणको १३ औँ दिन (भदौ १६ गते) मा केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्ने बैठकले निर्णय गरेको छ ।