कैलाली –कैलालीमा भूमीहिन वादी समुदायका परिवारलाई स्थानीय तहले लालपुर्जा वितरण गर्न थालेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिकाले भूमिहीन बादी परिवारलाई लालपूर्जा वितरण गर्न थालेको हो ।
नगरपालिकाले वडा नम्बर ३ बल्चौरका १२४ भूमिहीन बादी परिवारलाई लालपुर्जा वितरण गरेको जनाएको छ । पूर्वपश्चिम राजमार्गको दक्षिण र रानी जमरा कुलरिया सिँचाइको मूल नहरको उत्तरमा बसोबास गरिरहेका १७७ बादी परिवारमध्ये १२४ परिवारको हातमा मङ्गलबार लालपुर्जा पुगेको छ । लालपुर्जा पाउनेहरुले दश धुरदेखि एक कठ्ठासम्म पाएका छन् ।
यस्तै भूमि आयोगका कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले लम्किचुहामा १० हजार कित्ता जग्गा नापी भइसकेको जनाएका छन् । कैलालीका पाँच पालिकामा लालपुर्जा वितरण गर्ने तयारी भइरहेको र आयोगमा कैलालीका सवा लाख व्यक्तिका निवेदन परेको उनले जानकारी दिए ।