Sagun Khabar
चितुवाले आक्रमण गर्न थालेपछि बैतडीको तल्लोसोराडमा त्रास, बालबालिकालाई विद्यालय पठाउनै सकस 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिका वडा नं ६ बसेडीमा मंगलबार विद्यालय गइरहेका एक बालकमाथि चितुवाले आक्रमण गरेपछि अहिले त्रासको वातावरण सिर्जना भएको छ । वडा नं ६ का १३ बर्षीय पारस धनाडीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो । 

धनाडीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारपछि घर ल्याइएको छ । यस्तै सोमबार राति सोही ठाउँका ६८ बर्षीय बहादुर दमाईलाई पनि चितुवाले आक्रमण गरि घाइते बनाएको थियो । 

Atrya hospital

एकै गाउँका दुईजनालाई दुई दिन लगातार आक्रमण गरेपछि अहिले गाउँमा त्रासको वातावरण सिर्जना भएको शिवनाथ गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष भरतराम पार्कीले बताए । चितुवाले बारम्बार आक्रमण गर्न थालेपछि स्थानीयबासी त्रसित बनेका उनले बताए । उनले भने ‘अहिले हाम्रो क्षेत्रमा चितुवा आक्रमणको त्रास छ । पहिला पनि चितुवाले मानवीय क्षति पुर्याएको हुनाले स्थानीयबासी डरमा बाँचिरहेका छन् ।’

स्कुले बालबालिकाहरुलाई चितुवाले आक्रमण गर्न थालेपछि अहिले अभिभावकहरु बालबालिकाहरुलाई विद्यालय पुर्याउन आँफै जान थालेका छन् । विद्यालय गइरहेका एकजना गाउँका बालकमाथि चितुवाको आक्रमण भएपछि अहिले बालबालिकाहरुलाई विद्यालय पुर्याउन आँफै जाने गरेको शिवनाथ ६ की सीता पार्कीले बताइन् । उनले भनिन् ‘बालबालिकाहरुलाई एक्लै विद्यालय पठाउन निकै डर छ । त्यसैले हामी आफ्ना बालबालिकाहरुलाई विद्यालय पुर्याउन जाने गरेका छौं ।’

चितुवाले आक्रमण गर्न थालेपछि बालबालिकाहरुमा त्रास देखिएकाले अभिभावकहरु आँफै विद्यालय सम्म पुग्न थालेका हुन् । स–साना नानीबाबुहरुलाई विद्यालय एक्लै पठाउन मुस्किल भएकाले आफूहरु विद्यालय सम्मै पुग्ने अर्का स्थानीय मोहनराम पार्कीले बताए । उनले भने ‘चितुवाले दिनदहाडै आक्रमण गर्न थालेको छ । त्यसैले बालबालिकाहरुलाई विद्यालय पठाउन आँफै गइरहेका छौं ।’

गत बर्षपनि चितुवाको आक्रमणबाट शिवनाथ ६ का दुई जना घाइते भएका वडा अध्यक्ष पार्कीले बताए । हरेक बर्ष चितुवाले मानवबस्तीमा पसेर क्षति पुर्याइरहेको हुनाले यसको दीर्घकालिन समाधान खोज्नुपर्नेमा उनले जोड दिए । उनले भने ‘चितुवाले हरेक बर्ष मानवबस्तीमा त्रास फैलाउने गरेको छ । यो बिषयमा सरोकारवालाहरुसंग हामी पनि छलफल गर्छौं । यो समस्या समाधानका लागि पहल गर्नुपर्छ ।’

बैतडीमा २०६८ साल यता चितुवाको आक्रमणबाट २७ जनाको ज्यान गइसकेको डिभिजन वन कार्यालयको तथ्यांक छ । चितुवाले मानवबस्तीमा पसेर क्षति पुर्याउन थालेको एक दशक बढी भइसकेको छ । चितुवा र मानवबीचको द्वन्द बढ्दै गएपछि दुवै पक्षमा क्षति भएको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताए । २०७४ साल यता १२ ओटा चितुवा पनि मारिएका छन् । 

चितुवाको बासस्थान नष्ट हुनु, आहार प्रजाति नष्ट हुनु लगायतका कारणले चितुवा मानवबस्तीमा पसेको हुन सक्ने अनुमान गरिएको छ । तर यसका बिषयमा विज्ञहरुको अनुसन्धान बिना भन्न नसकिने कँडेलले बताए । अहिले फेरी चितुवा सक्रिय भएकाले चितुवाको आक्रमणबाट बच्ने उपाय अपनाउनुपर्नेमा उनले जोड दिए । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update