Sagun Khabar
रोडीदेवल घटनाका पीडित परिवारलाई राहत दिने पञ्चेश्वर गाउँपालिकाको निर्णय 

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं ६ मा गत वैशाख २० गते चट्याङ लागेर मृत्यु भएका वडा सदस्य गोविन्दसिंह भण्डारीको परिवार र वैशाख २१ गते भएको जिप दुर्घटना परी मृत्यु भएका परिवारलाई पञ्चेश्वर गाउँपालिकाले राहत दिने भएको छ । 

गाउँकार्यपालिकाको निर्णय अनुसार वैशाख २० गते चट्याङ लागेर मृत्यु भएका वडा सदस्य भण्डारीको परिवारलाई ४ लाख राहत दिने निर्णय भएको गाउँपालिका उपाध्यक्ष बीना भट्टले जानकारी दिइन् । 

यस्तै वडा सदस्य भण्डारीको शव पोष्टमार्टमाका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा भएको जिप दुर्घटनामा परी मृत्यु भएकाहरुको परिवारलाई प्रतिपरिवार एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय भएको उनले बताइन् । उनले भनिन् ‘तत्कालका लागि हामीले मृतकका परिवारलाई ५० हजारका दरले उपलब्ध गराईसकेका छौं ।’

Atrya hospital

यस्तै मृतकका परिवारलाई व्यवसाय गर्नका लागि एक लाखका दरले अनुदान दिने निर्णय समेत भएको छ । ‘सो घटनामा घाइते र मृत्यु भएका ९ परिवारका लागि महिला लक्षित कार्यक्रमबाट यसै आर्थिक बर्षमा अनुदान दिने निर्णय भएको छ । यसले पीडित परिवारलाई केही सहयोग होला भन्ने विश्वास गरेकी छु ।’उपाध्यक्ष भट्टले भनिन् ‘दुर्घटनामा घर पुरुष मानिस बितेपछि महिलाहरुलाई जिविकोपार्जनमा समस्या भएको छ । त्यसैले व्यवसायिक अनुदान दिने निर्णय गरेका हौं ।’

यसैगरी सो दुर्घटनामा परी घाइते भएकाहरुको उपचारमा लाग्ने खर्च मध्ये ५० प्रतिशत गाउँपालिकाले व्यहोर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । 

यसैगरी जिप दुर्घटनामा परी मृत्यु भएका परिवारले महाकाली यातयातबाट पाउने क्षतिपूर्ती प्राप्तिका लागि पहल गर्ने निर्णय समेत भएको छ । 

उक्त दुर्घटनामा परी मृत्यु भएका परिवारका छोराछोरीहरुलाई उच्च शिक्षा हाँसिल गर्नका लागि छात्रवृति उपलब्ध गराउने निर्णय भएको उपाध्यक्ष भट्टले बताइन् । उनले भनिन् ‘हामीले बालबालिकाको शिक्षा ग्रहण गर्ने अधिकारलाई सुनिश्चित गर्न छात्रवृति उपलब्ध गराउने निर्णय गरेका हौं ।’

यसैगरी पीडित परिवारलाई सहयोग पुर्याउन राहत कोष स्थापना गरिएको र सो कोषमा जमा भएको रकम पीडित परिवारलाई हस्तान्तरण गरिने बताइएको छ । उपाध्यक्ष भट्टले भनिन् ‘सो कोषमा हामीले पनि केही रकम जमा गरेका छौं । सबैलाई सहयोगको आह्वान गरेका छौं । उक्त रकम पीडित परिवारलाई हस्तान्तरण गर्नेछौं ।’

वैशाख २० गते साँझ चट्याङ लागेर पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको निधन भएको थियो । भण्डारीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने क्रममा जिप दुर्घटना भई देवल गाउँका अन्य ५ जनाको निधन भएको थियो । एकै गाउँका ६ जनाको दुखद निधन भएपछि अहिले पनि गाउँ शोकमग्न अवस्थामा रहेको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update