Sagun Khabar
बैतडीको खोड्पेमा ट्रमा कर्नर भवन निर्माण शुरु 

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ८ खोड्पेमा ट्रमा कर्नरको भवन निर्माण कार्य शुरु भएको छ । संघीय सरकारले पाटन नगरपालिकालाई ट्रमा कर्नर निर्माणका लागि बजेट पठाएपछि ट्रमा कर्नर निर्माणको काम शुरु भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए ।

ट्रमा कर्नर निर्माणको जिम्मा पाएको अर्चना निर्माण सेवाले ट्रमा कर्नर भवन निर्माणको काम शुरु गरेको महराले जानकारी दिए  । चालु आर्थिक बर्षमै भवन निर्माण गरिसक्ने लक्ष्य अनुसार निर्माणको काम भईरहेको हो । संघीय सरकारले ट्रमा कर्नरका लागि ५० लाख बजेट पठाएको र त्यो मध्ये ३५ लाख भौतिक निर्माणमा खर्च हुनेछ भने बाँकी रकम औजार उपकरण खरीदमा खर्च हुने स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए । 

Atrya hospital

तत्कालिन स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बैतडी आएका बेलामा गरेको प्रतिबद्धता अनुसार बैतडीमा ट्रमा कर्नर निर्माणका लागि बजेट आएको बताइएको छ । ट्रमा कर्नर सञ्चालनमा आएपछि दुर्घटनामा परेका घाइतेहरुलाई उपचारका लागि सहज हुनेछ । 

कर्नरमा घाइतेहरुलाई तत्कालको उपचार र बेसिक लाइफ सपोटका लागि सहज हुने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । ट्रमा कर्नर भवन निर्माणको काम भईरहेको भएपनि जनशक्तिका बिषयमा अहिले सम्म केही व्यवस्था हुन नसकेको उनले बताए । उनले भने ‘ट्रमा कर्नरमा दुर्घटनामा परेकाहरुको प्राथमिक उपचार हुन्छ । सुविधासम्पन्न अस्पताल सम्म राम्रो तरीकाले कसरी पुर्याउन सकिन्छ त्यो हिसाबले कर्नरमा समान्य उपचार हुन्छ ।’

भवन निर्माण भएपछि तत्कालका लागि स्वास्थ्यचौकी मातहत राखेरै ट्रमा कर्नर सञ्चालनमा आउने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले बताए । 
 

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update