दार्चुला –हिमाली जिल्ला दार्चुलामा डेंगु महामारीका रुपमा फैलिन थालेको छ । तराईका जिल्लामात्रै हुने डेंगु पछिल्लो समयमा हिमाली तथा पहाडी जिल्लाहरुमा समेत फैलिन थालेको हो । दार्चुलामा डेंगु महामारीको रुपमा फैलिएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप अधिकृत विरेन्द्र भट्टले बताए ।
अहिले सम्म जिल्लामा १ सय ८८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने एक जना बालिकाको डेंगुबाट मृत्यु समेत भइसकेको उनले बताए । सबैभन्दा बढी जिल्लाको महाकाली नगरपालिकाका १ सय ३० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै व्यास गाउँपालिकाका १३ जना, नौगाड गाउँपालिकाका ८ जना, मालिकार्जुन गाउँपालिकाका १२ जना, दुहुँ गाउँपालिकाका ११ जना, अपिहिमाल गाउँपालिकाका ६ जना, लेकम गाउँपालिकाका ४ जना र मार्मा गाउँपालिकाका १ जनामा डेंगु पुष्टि भएको भट्टले बताए ।
जिल्लाको शैल्यशिखर नगरपालिकाको रेकर्ड नआएको भएपनि त्यहाँ पनि डेंगुका बिरामी हुन सक्ने बताइएको छ । बढी डेंगु प्रभावित १० जिल्लाभित्र दार्चुला समेत परेको खोप अधिकृत भट्टले बताए ।
डेंगु भएमा कडा खालको ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने लगायतका लक्षणहरु देखा पर्दछन् । डेंगुका लक्षण देखिएमा जथाभावी औषधि नखान समेत स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।
एडीस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु हुने भएकाले यो रोगबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने खोप अधिकृत भट्टले बताए । यो लामखुट्टेले बिहान र दिउँसोको समयमा मात्रै टोक्ने भएकाले यसबाट बच्नुपर्नेमा उनले जोड दिए ।
यस्तै पानी जमा भएको ठाउँमा लामखुट्टेले फुल पार्ने भएकाले यसको लार्भा नष्ट गर्ने अभियानमा स्थानीय तहहरुले ध्यान दिनुपर्ने भट्टले बताए । डेंगुका कारण मानिसको ज्यान समेत जाने भएकाले यसको लक्षण देखिने बित्तिकै स्वास्थ्य संस्थाहरुमा सम्पर्क राख्न समेत स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।