Sagun Khabar
बैतडीको मुस्याचोरमा कोल्डस्टोर भवन निर्माण कार्य शुरु 

बैतडी – बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ मुस्याचोरमा कोल्ड स्टोर भवन निर्माण कार्य शुरु भएको छ । तरकारी तथा फलफूल भण्डारणका लागि कोल्ड स्टोर भवन निर्माण कार्य शुरु गरिएको हो । 

१०÷१० टन क्षमताका दुईओटा कोल्डस्टोर भवन निर्माण गरिनेछन् । कोल्डस्टोर भवन निर्माणका लागि बिग बि एण्ड कम्पनीले कृषि विकास निर्देशनालय दिपायलसंग सम्झौता गरेर काम अघि बढाएको छ । ४६ लाख ३५ हजारको लागतमा कोल्डस्टोर भवन निर्माणको सम्झौता भएको निर्माण कम्पनीका प्रबन्धक विकास चन्दले बताए । उनले भने ‘हामीले सम्झौता अनुसार काम शुरु गरिसकेका छौं । लकडाउनका कारण काम शुरु गर्न केही ढिलाई भयो । तर पनि हामी समयमै सम्पन्न गर्ने योजनामा छौं ।’ 

Atrya hospital

चालु आर्थिक बर्षमै सक्ने लक्ष्यका साथ काम शुरु गरिएको पनि चन्दले बताए । कोरोना भाईरसको कहरका कारण निर्माण सामग्री ल्याउनमै झण्झट भईरहेको उनले गुनासो गरे । 

मुस्याचोरमा कोल्डस्टोर निर्माण भएपछि किसानहरुलाई आफ्ना उत्पादन भण्डारणमा सहज हुनेछ । १० टन आलु र १० टन फलफूल भण्डार गर्न सकिने क्षमताको कोल्ड स्टोर निर्माण भईरहेको बताइएको छ । यसले किसानहरुलाई आफ्ना उत्पादनमा सहजै भण्डारणमा सहयोग पुग्ने दशरथचन्द नगरपालिका वडा नं १ का वडा अध्यक्ष भुवनराज भट्टले बताए । उनले भने ‘अब किसानहरुको उत्पादनलाई लामो समय सम्म भण्डारण गर्न सकिनेछ । यसले किसानहरुलाई फाइदा पनि हुनेछ ।’

कोल्ड स्टोर निर्माण भएपछि किसानहरुलाई निकै सहज हुने अगुवा किसान देवदत्त भट्टले बताए । उनले भने ‘यो क्षेत्रका किसानहरुलाई अब आफ्नो उत्पादन भण्डारणमा सहज हुनेछ । पछिल्लो समयमा उत्पादित आलु लगायतका तरकारीले बजार नपाउँदा सस्तो बेच्नु परेको थियो । अब भण्डारणको व्यवस्था हुने भएपछि त्यो झण्झट हट्नेछ ।’


 

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update