Sagun Khabar
बैतडीमा आन्तरिक मूल्याकंनको आधारमा विद्यार्थीहरुको नतिजा प्रकाशन गर्ने तयारी 

बैतडी –बैतडीका स्थानीय तहहरुले आन्तरिक मूल्यांकनको आधारमा विद्यार्थीहरु अन्तिम नतिजा प्रकाशन गर्ने तयारी गरेका छन् । कोरोना भाईरसको महामारीका कारण भौतिक उपस्थितीमा परीक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेकाले आन्तरिक मूल्याकंनका आधारमा विद्यार्थीहरुको परीक्षाफल प्रकाशन गर्ने तयारी भएको स्थानीय तहहरुले जनाएका छन् ।

कोरोना भाईरसको संक्रमण जोखिम कायमै रहेकाले विद्यार्थीहरुको अर्धबार्षिक परीक्षाको नतिजा अनुसार अन्तिम मूल्यांकन गरी परीक्षाफल प्रकाशन गरिने सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश भट्टले जानकारी दिए । कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुको आन्तरिक मूल्याकंनबाट परीक्षाफल प्रकाशन गरिने उनले बताए ।

Atrya hospital

यस्तै सुर्नया गाउँपालिकाले पनि त्रैमासिक तथा अर्धबार्षिक परीक्षाको नतिजा अनुसार विद्यार्थीहरुको अन्तिम नतिजा प्रकाशन गर्ने तयारी गरेको जनाएको छ । यो भन्दा पहिलाका परीक्षाको नतिजा अनुसार विद्यार्थीहरुको अन्तिम मूल्यांकन गरेर विद्यालयहरुलाई नतिजा प्रकाशन गर्न आग्रह गरेको शिक्षा शाखा प्रमुख मदनराज पन्तले जानकारी दिए । 

यस्तै पाटन नगरपालिकाले पनि जेठ मसान्तभित्र आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीहरुको अन्तिम नतिजा प्रकाशन गर्न निर्देशन दिइएको नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिए ।

जिल्लाको दशरथचन्द नगरपालिकाले पनि सूचना प्रकाशन गरेर आन्तरिक मूल्यांकनको आधारमा विद्यार्थीहरुको अन्तिम नतिजा प्रकाशन गर्न आग्रह गरेको छ । भौतिक रुपमा परीक्षा सञ्चालन गर्न नसकिने भएपछि आन्तरिक मूल्यांकनबाट परीक्षाफल प्रकाशन गर्न विद्यालयहरुलाई निर्देशन दिइएको नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले बताए । 

यस्तै दोगडाकेदार गाउँपालिकाले पनि जेठ मसान्त भित्र विद्यार्थीहरुको अन्तिम नतिजा प्रकाशन गर्न विद्यालयहरुलाई आग्रह गरेको छ । 

जिल्लाका सबै स्थानीय तहहरुले आन्तरिक मूल्याकंनका आधारमा परीक्षाफल प्रकाशन गर्न विद्यालयहरुलाई आग्रह गरेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update