बैतडी –वीरेन्द्र नाथ र गजेन्द्र बोहराको उत्कृष्ट प्रदर्शनले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बैतडी विजयी भएको छ । बैतडीले शुक्रबार भएको खेलमा डडेल्धुरामाथि ५५ रनको जित हात पारेको हो ।
छनोट प्रतियोगितामा बैतडीको यो दोस्रो जित हो । यसअघि पहिलो खेलमा बैतडीले बझाङलाई ६ विकेटले हराएको थियो ।
बैतडीले दिएको १९० रनको लक्ष्य पछ्याएको डडेल्धुरा १५४ रनमा अलआउट भयो । उसका लागि विशाल ऐरले ३६ र कृष्ण भट्टले ३२ रनको योगदान गरे पनि हार भने टार्न सकेनन् ।
डडेल्धुराको पारी ध्वस्त पार्ने क्रममा बैतडीका गजेन्द्र बोहराले ५ विकेट हात पारे । बोहराले ८ ओभरमा २ मेडन राखेर २४ रन खर्चेर ५ विकेट हात पारे । वीरेन्द्र चन्दले २ विकेट झारे ।
त्यसअघि पहिला ब्याटिङ गरेको बैतडीले वीरेन्द्र नाथको उत्कृष्ट ब्याटिङमा १८९ रन बनायो । वीरेन्द्रले ४ चौका र ३ छक्काको सहयोगमा अर्धशतकीय पारी खेल्दै ६१ रन हिर्काए । दीपक बोहराले ३१ र कप्तान बसन्त खत्रीले २४ रन जोडे । डडेल्धुराका कृष्ण विष्टले ४‚ कैलाश ऐर र निर्मल रोक्काले २÷२ विकेट हात पारे ।
प्रदेशस्तरीय छनोटमा यहाँका ८ जिल्लाका टोली सहभागी छन् । सहभागी टोलीहरूबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रधानमन्त्री कपका लागि छनोट हुुनेछन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता कात्तिक १२ गतेदेखि काठमाडौंमा हुँदैछ ।