Sagun Khabar
विश्व वातारण दिवस :बैतडीमा वृक्षारोपण 

बैतडी –बैतडीमा पनि विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरिएको छ । कोरोना कहरका कारण अन्य कार्यक्रम सञ्चालन गर्न नसकिएपनि डिभिजन वन कार्यालयको परिसरमा वृक्षरोपण गरेर दिवस मनाइएको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले जानकारी दिए ।

नयाँ सोच र श्रृजना, प्राकृतिक प्रणालीको पुनस्र्थापना भन्ने नारा सहित दिवस मनाइएको हो ।दिवसको अवसरमा दाँते ओखर, लप्सी, रीठा र कल्की फूलका बिरुवा रोपण गरिएका पराजुलीले बताए । कल्की फूलको बिरुवा माहुरीका लागि निकै उपयोगी भएको समेत उनले बताए । 

संयुक्त राष्ट्र संघले आजदेखि नै आगामी दश बर्ष प्राकृतिक प्रणाली पुनस्र्थापना दशक मनाउन शुरु गरेकाले प्राकृतिक सम्पदाहरुको संरक्षणका लागि दिवसको अवसरमा वृक्षारोपण गरिएको बताइएको छ । प्राकृतिक प्रणालीमा आएका विभिन्न समस्याहरुलाई समाधान गर्नका लागि संयुक्त राष्ट्रसंघले यो दशक मनाउने घोषणा गरेको हो । हरेक बर्ष जुन ५ तारिखलाई विश्व वातारण दिवस मनाउने गरिन्छ ।

Atrya hospital

डिभिजन वन कार्यालयले पनि प्राकृतिक प्रणाली पुनस्र्थापनाका लागि विभिन्न फलफूलका बिरुवाहरु वितरण तयारी समेत गरेको छ । लप्सी, ओखर, रीट्ठा, अमला, कल्की फूल लगायतका बिरुवा नर्सरीबाट वितरणको तयारी भएको बताइएको छ । 

नेपालमा पनि बढ्दो सहरीकरण, प्राकृतिक सम्पदाको दोहन, फोहोरमैलाको दिगो व्यवस्थापन, ढलको निकासीलगायत व्यवस्थित नहुँदा चुनौती बढ्दै गएको छ । समयमै सानो मेहनतबाट व्यवस्थापन हुनसक्ने यी समस्यामा ध्यान नदिँदा अवस्था विकराल बन्दै गएको छ । 

यस्तै, वन विनाश, खेतीयोग्य जमिनसँगै डाँडाकाँडामा जथाभाबी खडेरी र बाटोका लागि डोजर चल्नुले पनि वातावरण संरक्षणमा चुनौती बढेको छ । 

सरकारले वातावरण संरक्षण ऐन ल्याए पनि यसको प्रभावकारिता कम हुँदा स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक भने पूरा हुन सकेको छैन । प्राकृतिक सम्पदाहरुको संरक्षणका लागि प्राकृतिक प्रणाली पुनस्र्थापना दशक घोषणा गरिएको हो ।  

 

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update