Sagun Khabar
भारतले बिना सूचना जिलेटिन पट्काउँदा दार्चुलाका महराको मृत्यु भएको खुलासा 

दार्चुला –महाकाली नदीपारि भारतले सडक चौडा पार्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर दार्चुलामा एक बालकको ज्यान गएको छ । अर्की बालिका घाइते भएकी छिन् । शुक्रबार  भएको घटनामा व्यास गाउँपालिका–२ दुम्लिङका हिक्मत महराका छोरा ९ वर्षीय पवनको ज्यान गएको हो ।

हिक्मतकी छोरी १४ वर्षीया सरिना घाइते भएकी छिन् । उनको खुट्टामा चोट लागेको रे जिल्ला अस्पताल खलङ्गामा उपचार भइरहेको व्यास गाउँपालिकाका अध्यक्ष मङ्गल सिंह धामीले जानकारी दिए । भारतले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा विना सूचना विस्फोट गराउँदा घटना भएको अध्यक्ष धामीले बताए । 

Atrya hospital

अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै भौतिक संरचना बनाउँदा दुवै देशले एकअर्कालाई असर पुर्याउने काम गर्न नपाइने र विस्फोट गराउनैपर्ने भए त्यसको सूचना दिनुपर्ने नियम छ । तर, शुक्रबार भारतले सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा सूचना नै नदिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

भारत पिथौरागढ जिल्लाको धार्चुलाअन्तर्गत तवाघाट–लिपुलेक सडक खण्डको लखनपुर क्षेत्रमा सडक चौडा गर्ने क्रममा भारतीय पक्षले विस्फोट गराएको हो । सीमा क्षेत्रमा हुने यस्ता खालका क्रियाकलाप रोकिनुपर्नेमा स्थानीयहरुले माग समेत गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update