भारतको गुजरातमा पुल भत्किँदा १ सय ३२ जनाको ज्यान गएको पुष्टि भएको छ । त्यहाँको गृहमन्त्रालयले दुर्घटनामा १ सय ३२ जनाको ज्यान गएको पुष्टि गरेको हो ।
ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अहिलेसम्म १ सय ७० जनाको उद्धार गरिएको छ । मोरबीको मच्चु नदीमाथिको पुल भाचिँदा कयौँ जना नदीमा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गुजरातका गृहमन्त्री हर्षसिंह साङ्घवीले अहिलेसम्म ६८ वटा शव भेटिएको बताए । उनका अनुसार घटनास्थलमा उद्धारको काम भइरहेको छ । पुल भत्किँदा नदीमा डुबेका कतिपय बेपत्ता छन् । पुल भत्किएका बेला त्यहाँ झण्डै चार सय जना रहेका अनुमान गरिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार यो पुल १ सय ४० वर्ष पुरानो मानिन्छ । मर्मतसम्भारका लागि ६ महिनासम्म बन्द गरिएको यो पुल गएको शुक्रवारदेखि मात्रै आवतजावतका लागि खोलिएको थियो । गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले ज्यान गुमाएकाका परिवारलाई चार लाख रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् । पटेलले यो घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेका छन् । उनले लापरबाही गरी पुल खोल्नेलाई कारबाही हुने बताएका छन् ।
यस्तै, प्रधानमन्त्री राहत कोषबाट पनि ज्यान गुमाएकाका परवारलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा भएको खबरमा उल्लेख छ ।