बैतडी –प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेटमा सुदूरपश्चिम पराजित भएको छ । विभागीय टोली एपीएफसँग सुदूरपश्चिम १० विकेटले पराजित भएको हो । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको ६८ रनको झिनो लक्ष्य एपीएफले ११ दशमलव २ ओभरमा विना क्षति पूरा गरेको छ । एपीएफका ओपनरद्वय आसिफ शेखले ३२ बलमा ४२ र प्रदीप ऐरीले ३६ बलमा २५ रनको अविजित पारी खेले ।
टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम ४३ ओभरमा ६७ रनमै अलआउट भएको थियो । उसका लागि कप्तान राजु रिजालले सर्वाधिक २४ रन बनाए । अन्य कुनै ब्याट्स्यमानले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफका लागि स्पिनर भुवन कार्कीले सर्वाधिक ४ विकेट लिए । उनले ९ ओभरमा १ मेडन राख्दै २२ रन खर्चिए । कमल ऐरी र मौसम ढकालले समान २ विकेट लिए ।
प्रधानमन्त्री कपको समूह ए मा रहेको एपीएफको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा उसले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ५६ रनले हराएको थियो ।