बैतडी –अझै पनि अधिकांश महिलाको दिन चुलोचौको र खेतबारीमै बित्छ । जयन्ती बिजलेको पनि खेतबारीमै हो समय बित्ने । पाटन नगरपालिका—९ खालीडाँडाकी २४ वर्षे चेली खेतबारीको कामले हातमुखमात्रै जोर्दिनन् । मनग्गे आम्दानी पनि गर्छिन् ।
जयन्ती खेतीपातीबाटै वर्षमा १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छिन् । त्यो स्कुल जाने उमेरै थियो, जतिबेला उनी डोली चढेर पराइघर गएकी थिइन् । उनका ससुरा हरिसिंह बिजले उनताकै खेतीपातीमा तल्लीन थिए र त्यसैबाट परिवारको गर्जाे टथ्र्याे । यता घरमा नयाँ सदस्य भित्रनु र खेतीपातीमा व्यावसायिकपन सुरु हुनु सँगै भयो । जयन्तीले परिवारको खेतीपाती व्यावसायिक बनाउन मेहेनत सुरु गरिन् । स्कुल टुटाइनन्, हातमा कलम कपी छुटाइनन्, कुटोकोदालो पनि छोडिनन् ।
उमेर १६ वर्ष थियो, पढाइ चल्दाचल्दै बिहेको कुरो चल्यो । दुईतिरका परिवार राजी भएपछि बिहे पनि भयो । जयन्तीलाई भने पढाइको चिन्ता थियो । अर्काे घरमा गएपछि पढ्ने कि बुहार्तन सहने ? एककिसिमको भयमै थिइन् उनी । तर मनले चिताएजस्तै भयो, पढाइ नछाडने चाहनामा घरपरिवारले बाधा हालेन बरु प्रेरितै ग¥यो । उनी पनि बिहान बेलुकी घरको काममा व्यस्त भइन्, दिउँसो पढ्न गइन् । उनी पनि खुसी, परिवार पनि खुसी ।
सुरुमा २०÷२२ हजारको हाराहारीमात्रै बिजले परिवारको कमाइ थियो । व्यावसायिक रुप दिएपछि वार्षिक १० लाख रुपैयाँ कमाइ हुन थाल्यो । बारी र परिवारको जीवन दुवै हराभरा हुनथाल्यो । जयन्ती गर्वका साथ भन्छिन्, ‘तरकारी खेती गरेरै धनगढीमा २ कट्ठा घडेरी किनेका छौं ।’छोराछोरीलाई उतै धनगढीमा राखेर पढाइराखेकी छन् । बिजले परिवार ६० रोपनीमा तरकारी खेती गर्छ । त्यो त्यस्तो जमिन हो, जहाँ पहिलाको उब्जनीले ६ महिना पनि परिवारको गर्जाे टार्न धौधौ थियो । पहिले त्यही बारीमा परिवारले गहुँ र मकै लगाउँथ्यो । जयन्तीका श्रीमान् मोहन रोजगारीकै लागि विदेशिएका थिए । अहिले उनले यतै डाकिन् । हरिसिंह छोराबुहारी मिलेर खेतीपातीमा लागेको देख्दा हर्षित छन् । जयन्ती भन्छिन्, ‘श्रीमान् कोरिया हुनुहुन्थ्यो, आफ्नै माटोमा सुन फल्छ आउनोस् भनेर बोलाएँ, आउनुभयो ।’
जयन्ती खेतीपाती गर्दै पढ्दै पनि छिन् । उनको स्नातक तहको पढाइ जारी छ । बारीमा आलु,बन्दा, मुला,काउली, खुर्सानी फलेका छन् । परिवारको छाती गर्वले फुलेको छ ।बारीको काम जयन्ती आफैं गर्छिन् । बजारसम्म पु¥याउन पनि उनी आफै जान्छिन् । हिसाबकिताब सबै राख्छिन् ।
व्यावसायिक खेतीपाती गर्न जयन्ती थुप्रै तालिम पनि लिइन् । त्यसबाट उत्पादन बढाउने तरिका जानिन् पनि । भन्छिन्, ‘तरकारीको बेर्ना बनाउन, गोडमेल गर्न, जैविक विषादी बनाउन जानें ।’ प्याजको बेर्नामात्रै बेचेर पोहोर साल उनले ५ लाख भित्र्याएकी थिइन् । भन्छिन् ‘अर्काे वर्ष अझै कमाउने हो, आधुनिक कृषि प्रणालीमा जाने विचार छ ।’
अहिले त गाउँमा महिला कृषक समूह नै गठन भएको छ । धेरैजसो महिला समूहमा सहभागी छन् ।तरकारी खेतीमा लागेकी बिजले अहिले जिल्लास्तरीय मकैजोन कार्यान्वयन समितिकी उपाध्यक्षसमेत भएकी छन् । भन्छिन्, ‘पहिलापहिला महिलालाई यस्ता समितिहरुमा राख्ने चलन नै थिएन । अहिले तरकारी खेतीमा लागेकै कारण विभिन्न ठाउँमा जान पाएँ । तरकारी खेतीले मलाई नाम र दाम दुवै दिएको छ ।’
घर परिवारको साथ छँदै थियो, सरकारले पनि उनलाई उत्कृष्ट किसान भनेर क्षेत्रीय स्तरको पुरस्कार दिइसकेको छ । त्यसपछि झन् पूरै परिवार हर्षित छ ।
जयन्ती बिजलेको परिवारले थालनी गरेको व्यावसायिक तरकारी खेतीको सिको गर्दै अहिले किचारका ३५ परिवारले तरकारी खेती गर्न थालेका छन् । गाउँमा कैलपाल महिला किसान समूह गठन गरेर आफूहरु तरकारी खेतीमा लागेको किचारकी दुरा भण्डारीले बताइन् । भन्छिन्,‘जयन्तीको परिवारको तरकारी व्यवसायको सफलताबाट हामीहरुले पनि धेरै कुरा सिकेका छौं । अहिले गाउँका प्रायः जसो तरकारी खेतीमा आवद्ध भएका छौं ।’
व्यवसायिक तरकारी खेतीलाई अघि बढाउनका लागि समूहमा छलफल समेत हुने गरेको समूहकी कोषाध्यक्ष जयन्ती बिजले बताउँछिन् । उनले भनिन् ‘हामी हाम्रो कृषक समूहमा नयाँ प्रविधि, अनुदान, तालिमका कुरा र बजारीकरणका कुरा गर्छौं । यसले हाम्रो क्षमता समेत अभिवृद्धि भएको छ ।’
पछिल्लो समय तरकारी खेतीमा महिलाको आकर्षण बढ्दै गएको छ । जयन्ती बिजले जस्ता नमूना महिला किसान अहिले गाउँगाउँमा उदाइरहेको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थी सुनाउँछन् । उनी भन्छन्,‘ग्रामीण क्षेत्रमा पहिलेको तुलनामा कृषि पेसाबाट महिलाको दैनिकी फेरिएको छ । सधैंभरि घरको चुलोचौकोमा सीमित महिलाहरु अब आर्थिक तथा सामाजिक क्रियाकलापमा सरिक भएका छन् ।’
जिल्लाभरका २०७ कृषि समूहमध्ये ५३ वटा महिला किसान समूह रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । ‘सुरुमा महिला किसान समूह नै थिएनन् । गएको चारपाँच वर्षयता महिलाको व्यावसायिक तरकारी खेतीमा आकर्षण बढेको छ । यसले महिलालाई आत्मनिर्भर बनाउन सहयोग गरेको छ ।’पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले भने
कृषिबाटै साँच्चै जयन्ती बिजलेको जीवन जीवन्त भएको छ । थुप्रै महिलाले कृषिबाटै जीवन जीवन्त बनाएका छन् ।