Sagun Khabar
आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण, कुन राशिलाई कस्तो फल?

काठमाडौं – मङ्गलबार (आज) कार्तिक शुक्ल पूर्णिमाका दिन ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले  खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्ग’ मा उल्लेख गरिएको छ । 

बेलुकी ५ बजेर १३ मिनेटमा सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिने छ ।  बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिनेछ । १ घन्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ । चन्द्रग्रहणको ९ घन्टा अघिदेखि सूतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले बताए । 

Atrya hospital

आज बिहान ८ बजेर ११ मिनेटदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने गौतमले बताए । 

खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अति कष्टदायक रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । 

समितिका अनुसार यो ग्रहणले मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ र कर्कट राशिलाई सुख फल दिनेछ । यस्तै सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट, तुला राशिलाई स्त्रीपीडा र वृश्चिक राशिलाई सुख फल मिल्नेछ ।

धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि समितिद्वारा मान्यताप्राप्त पात्रोमा उल्लेख छ ।

ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । यसअघि कार्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लागेको छ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update