Sagun Khabar
मतदान छोडेर परिवार पाल्नका लागि भारततिर 
फाइल फोटो

बैतडी –खेतीपातीको काम सकेर बैतडीका ग्रामीण क्षेत्रका नागरिक रोजगारीका लागि भारत जान थालेका छन् । चुनाव नजिक आएको भएपनि परिवार पाल्ने आधार नहुँदा मतदान छोडेर भारत जानुपर्ने बाध्यता रही आएको सुर्नया ६ का पदमराज अवस्थीले बताए । अहिले गाउँका धेरै मानिस रोजगारीका लागि भारत गइरहेका उनले बताए । उनले भने ‘स्वदेशमा रोजगारीका अवसर छैनन् । चुनाव आएर के गर्नु ?परिवार पाल्न भारत जानुको विकल्प छैन् ।’

भारतसंग सीमा जोडिएको झुलाघाट नाकाबाट हिजोआज सैयौं नागरिक रोजगारीका लागि भारत जाने गरेका दशरथचन्द नगरपालिका ३ का दानबहादुर क्षेत्रीले बताए । झुलाघाट नाकाबाटै भारत जानेको संख्या बढेको उनले बताए । दशैं तिहार जस्ता ठूला चाडपर्व सकिएपछि रोजगारीका लागि भारत जानेको संख्या बढेको क्षेत्रीले बताए । चुनावको मुखमा नेपाली नागरिकहरु रोजगारीका लागि भारत पस्न थालेका क्षेत्रीले बताए । उनले भने ‘चुनाव जितेर पनि नागरिकको जीवनमा परिवर्तन नआएकाले उनीहरु भारत जानुपर्ने बाध्यता रही आएको छ ।’

Atrya hospital

झुलाघाट नाकाबाट बैतडीका मात्रै नभएर बझाङ, डोटी, अछाम लगायत जिल्लाका नागरिक समेत रोजगारीका लागि भारत पस्ने गरेको दशरथचन्द नगरपालिका १ का प्रयागराज भट्टले बताए । झुलाघाट नाकाबाट रोजगारीका लागि भारत पस्ने नागरिकको संख्या बढ्दै गएको उनले बताए । व्यापारिक प्रयोजनका लागि झुलाघाट क्षेत्र पुगेका भट्टले मतदान छोडेर भारत पस्नेको संख्या बढेको बताए । उनले भने ‘अहिले भारतको पिथौरागढ क्षेत्रका गाउँमा खर काट्ने कामका लागि समेत नेपालीहरु भारत पस्ने गरेका छन् । रोजगारीका अवसर नहुँदा भारत जानुपर्ने नागरिकको बाध्यता रही आएको छ ।’

व्यवस्था परिवर्तन भएपनि नागरिकको अवस्थामा परिवर्तन नआएकाले रोजगारीका लागि भारतकै भर पर्नुपर्ने बाध्यता रही आएको पुर्चौंडीका स्थानीय महेश बोहराले बताए । स्थानीयस्तरमा रोजगारी सिर्जनका कुनै काम नहुँदा अधिकांश नागरिक रोजगारीका लागि भारत पस्ने गरेको उनले बताए । 

अहिले उम्मेदवारहरु मत माग्नका लागि घरदैलो अभियानमा रहेका भएपनि मतदाताहरुलाई भने रोजगारीकै चिन्ता छ । परिवार कसरी पाल्ने भन्ने बिषयमा चिन्ता रहेको पाटनका स्थानीय जगदीश भट्टले बताए । उम्मेदवारहरुले आश्वासन दिने गरेको भएपनि चुनावी आश्वासनले केही नहुने उनले बताए ।  
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update