काठमाण्डौ – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको छ । आज शुक्रवार कीर्तिपुरको त्रिवि मैदानमा भएको रोमाञ्चक खेलमा पुलिसलाई दुई विकेटले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।
पुलिसले दिएको तीन सय पाँच रनको लक्ष्य आर्मीले एक बल बाँकी छँदा आठ विकेट गुमाएर भेटायो । उसका लागि रोहित पौडेलले ८९, हरि चौहानले ७५, र राजेश पुलामी मगरले नटआउट ४३ रन बनाए । बलिङतर्फ पुलिसका करण केसीले छ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर तीन सय चार रन बनायो । उसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले एक सय ४० र आरिफ शेखले नटआउट ९१ रन बनाए । बलिङतर्फ आर्मीका विक्रम सोबले तीन विकेट लिए ।
अब आर्मीले भोलि शनिवार उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नेछ । फाइनल खेल भोलि बिहान ९ बजे कीर्तिपुरमा हुनेछ ।