Sagun Khabar
दशरथचन्द नगरपालिकाद्वारा विद्यालयहरुमा वाईफाई जडान 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले सात ठाउँमा फ्रि वाईफाइ जडान गरेको छ । कोभीडको समयमा बालबालिकाहरुलाई अनलाइन मार्फत पठनपाठनमा सहज होस भनेर विद्यालयहरुमा वाईफाई जडान गरिएको हो । 

कोरोनाका कारण भौतिक उपस्थितीमा पठनपाठन गर्न नसकिएपछि बालबालिकाहरुलाई अनलाइन माध्यबाट पठनपाठनमा केही सहज होस भनेर निशुल्क वाईफाइ सेवा सञ्चालन गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिए । 

Atrya hospital

मणिलेक मावि गुरुखोला, निङ्गलाशैनी मावि देहीमाण्डौं, विरेन्द्र मावि शाहीलेक, दशरथ आधारभूत विद्यालय गढी, दशरथचन्द मावि सुन्दरखाली र जगदम्बा मावि रानीबुंगामा फ्रि वाईफाई सेवा सञ्चालन गरिएको हो । यस्तै गोठलापानी बजारमा पनि फ्रि वाईफाई सेवा सञ्चालनमा ल्याइएको शिक्षा शाखा प्रमुख नाथले जानकारी दिए । 

बालबालिकाहरुको पठनपाठनलाई केही सहज तुल्याउन वाईफाईको व्यवस्था गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत टिकेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनले भने ‘हामीले विद्यार्थीहरुलाई कोरोनाको समयमा शिक्षण सिकाईमा केही सहज होस भनेर वाईफाई जडान गरेका हौं । विद्यालयहरुमा उपकरण राखेर वाईफाई सञ्चालनमा आईसकेको छ ।’ 

एभरेष्ट वायरलेस इन्टरनेट प्रालिसंग सम्झौता गरेर वाईफाई जडान गरिएको बताइएको छ । ४ लाख ९५ हजारको लागतमा वाईफाई जडान गरिएको हो । 

अनलाइन प्रणाली मार्फत शिक्षण सिकाईका क्रियाकलाप गर्न सहज होस भनेर नगरपालिकाले यो कार्य गरेको जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update