Sagun Khabar
बैतडीमा कोरोना विरुद्धको भेरोसेल खोप जेठ २८ गतेदेखि लगाइने 

बैतडी –बैतडीमा पनि ६२ देखि ६४ बर्ष उमेर समूहका नागरिकलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाईने भएको छ । देशका विभिन्न जिल्लामा आजैदेखि खोप अभियान शुरु भएपनि बैतडीमा भने जेठ २८ गतेदेखि खोप अभियान शुरु हुने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

शुरुमा ६० देखि ६४ बर्षका नागरिकलाई खोप दिने भनिएकोमा पछि संशोधन भएर ६२ देखि ६४ बर्षका नागरिकलाई खोप दिने भनेकाले व्यवस्थापनका कारण खोप अभियान शुरु गर्न केही ढिलाई भएको उनले बताए । 

Atrya hospital

जिल्लाको दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा जेठ २८ गते खोप लगाइनेछ भने मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा जेठ ३० गते खोप लगाइनेछ । 

यस्तै पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा असार १ गते खोप लगाइने स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर निरीक्षक हरिश भट्टले जानकारी दिए । जिल्लाका प्रत्येक वडाका स्वास्थ्यचौकीमा खोप केन्द्र तोकिएका उनले बताए । 

बैतडीमा ६२ देखि ६४ बर्ष उमेर समूहका नागरिक करीब ३ हजार ५ सय जना रहेका अनुमान गरिएको छ । जिल्लामा अहिले ३ हजार ७८० डोज खोप आइपुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । पहिला कोभीशिल्ड खोप लगाएका जेष्ठ नागरिकलाई दोश्रो डोज नभएकाले अहिले भेरोसेल खोप लगाउँदा भने दोश्रो डोज मौज्दात राखेर मात्रै खोप दिइने भएको छ । 

भेरोसेलको दोश्रो मात्रा २८ दिनभित्र दिईसक्नुपर्ने स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर निरीक्षक भट्टले जानकारी दिए । खोप लगाउन आउँदा आफ्नो उमेर खुल्ने प्रमाणपत्र साथमा लिएर आउन हुन समेत आग्रह गरिएको छ । यस्तै खोप लगाउन आउँदा र खोप लगाउँदाका स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न समेत स्वास्थ्य कार्यालयले आग्रह समेत गरेको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update