Sagun Khabar
बैतडीका १२ हजार बढी जेष्ठ नागरिक कोरोना विरुद्ध खोपको दोश्रो मात्राको पर्खाईमा 

बैतडी–बैतडीमा कोरोना विरुद्धको कोभीशिल्ड खोप लगाएका जेष्ठ नागरिकलाई खोपको दोश्रो मात्रा दिने बिषयमा अझै पनि अन्योल रहेको छ । जिल्लामा देशभरी जस्तै ६५ बर्ष माथिका नागरिकलाई कोभीशिल्ड खोपको पहिला मात्रा लगाएको भएपनि दोश्रो मात्रा कहिले लगाउने भन्ने बिषयमा अनिश्चितता कायमै रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

कोभीशिल्ड खोपको आयात नै नभएकाले कहिले दोश्रो मात्रा लगाउने भन्ने बिषयमा यकिन नभएको उनले बताए । बैतडीमा गत फागुन २३ देखि चैत २ गते सम्म जेष्ठ नागरिकलाई कोभीशिल्डको पहिलो मात्रा लगाइएको थियो । 

Atrya hospital

कोभीशिल्ड खोपको पहिलो मात्रा लगाएको १२ देखि १६ हप्ता भित्र दोश्रो मात्रा लगाई सक्नुपर्ने हुन्छ । बैतडीमा १२ हजार ९५३ जना जेष्ठ नागरिकले कोभीशिल्ड खोपको पहिलो मात्रा लगाएका स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर निरीक्षक हरिश भट्टले जानकारी दिए । उनले भने ‘कोभीशील्डको दोश्रो मात्रा कहिले आउँछ भन्ने बिषयमा अहिले सम्म यकिन भएको छैन् । त्यसैले पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई दोश्रो मात्रा कहिले लगाउने बिषयमा टुंगो छैन् ।’

दशरथचन्द नगरपालिकामा १ हजार ८१७ जना, पाटन नगरपालिकामा २ हजार ४१७ जना, मेलौली नगरपालिकामा ९०७ जना, पुर्चौडी नगरपालिकामा १ हजार ९६० जना र सिगास गाउँपालिकामा १ हजार ५० जना जेष्ठ नागरिकले खोपको पहिलो मात्रा लगाएका थिए । 

यस्तै सुर्नया गाउँपालिकामा ८ सय, दोगडाकेदार गाउँपालिकामा १ हजार ४६३ जना, डिलाशैनी गाउँपालिकामा १ हजार ८९, पञ्चेश्वर गाउँपालिकामा ८ सय जना र शिवनाथ गाउँपालिकामा ६ सय ५० जना जेष्ठ नागरिकले खोपको पहिलो मात्रा लगाएका छन् । 

अहिले खोपको पहिलो मात्रा लगाएका जेष्ठ नागरिक खोपको दोश्रो मात्राको पर्खाईमा रहेका छन् । 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update