Sagun Khabar
महाधिवेशन भदाैमै हुन्छ, कोही भ्रममा नपरौं : देउवा

काठमाडौं –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएकै मितिमा पार्टीका महाधिवेशन सम्पन्न हुने बताएका छन्।

बुधबार विज्ञप्तिमा जारी गर्दै देउवाले आफू पार्टीको १४ औं महाधिवेशन भदौ भित्रै सम्पन्न गर्न पूर्ण प्रतिवद्ध भएर लागेको स्पस्ट पारेका छन्।

Atrya hospital

‘यस्तो विषम परिस्थितिमा पनि हामीले यही भदौ महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु परेको छ। म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु( २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ। म यसमा पूर्ण प्रतिवद्ध छु,’ देउवाले विज्ञप्तिमा भनेका छन्।

पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो भन्दै देउवाले आफूले पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने कुरा राम्ररी बुझेको बताएका छन्।

महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको आफूले सुनेको भन्दै उनले पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित नभएको बताएका छन्।

महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्नु आवश्यक नरहेको भन्दै देउवाले समय थोरै भएकाले सबैले महाधिवेशन सफल पार्न लाग्नुपर्ने औंल्याए। 
–थाहा खबरबाट 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update