Sagun Khabar
नियम विपरित बोर्डिङलाई योजना दिएको भन्दै बिरोध

बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा रहेको १ बोर्डिङ्ग स्कूललाई नियम विपरित योजना दिइएको भन्दै बिरोध भैरहेको छ । 

 सुर्नया ७ स्थीत एस.के. बोर्डिङ स्कुललाई खेलमैदान निर्माणका लागी डेढ लाख रकमको योजना दिएको भन्दै युवाहरुले सामाजिक सञ्जाल मार्फत बिरोध जनाएका हुन् । 

Atrya hospital

 चालु आर्थिक बर्ष २०७७–०७८को बजेटबाट बोर्डिङ्ग स्कूलमा खेल मैदान निर्माण गरिएको स्थानिय तेज बोहराले बताए । उनले भने ‘सरकारी बजेट एकजना निजि विद्यालय संचालकलाई मिलेमतोमा दिइएकाले विरोध गरेका हौँ । उनले भने ‘निर्माण उपभोक्ता समिति, स्कूल संचालक र वडाअध्यक्षको मिलेमतोमा योजना बनाइएकोमा हामिले विरोध गरेका हौँ ।’ नियम विपरित पहुँचका आधारमा योजना दिइएकाले आफुहरुले सामाजिक सञ्जाल मार्फत विरोध गरेको अर्का स्थानिय दिपेन्द्र चन्दले बताए । यसका साथै योजना पाएको एस.के. बोर्डिङ स्कूल दर्ता नै नभई अवैधानीक रुपले सञ्चालन भैरहेको समेत उनले बताए । 

  सस्ंथागत विद्यालयमा पालिकाले बजेट हाल्न नपाउने सुर्नया गाउँपालिका शिक्षा साखा प्रमुख मदनराज पन्तले बताए । उनले भने ‘वडा न. ७को वडाको बजेट बाट उक्त योजना निर्माण गरिएको भन्ने थाहा पाएपछि मैले वडाअध्यक्ष लाई बुझ्दा बालक्लवलाई दिएको बजेटले उक्त खेल मैदान निर्माण भएको भन्नुभयो । अहिले विरोधपछि भने योजना निर्माण सम्पन्न गरेपनी भुक्तानि रोकिएको छ ।’ 

  वडा अध्यक्ष भक्तबहादुर कुवरले भने आफुलाई समेत गुम्राहमा राखेर मैदान निर्माण गरिएको बताए । उनले भने ‘खड्के खोला खेल मैदान निर्माण आयोजना भनि रकम विनियोजन भएको थियो । तर मलाई पनि जानकारी नदिएर बोर्डिङ स्कूलको पायक पर्ने गरेर मैदान बनाइएको छ । हामीले अहिले उक्त योजनाको भुक्तानि रोकेका छौँ ।’

  एस.के. बोर्डिङ स्कूल प्रांगणमा खेल मैदान निर्माण भएपनि उक्त मैदान खेलकूद समितिलाई हस्तान्तरण गर्ने सम्झौता भएको बोर्डिङका संचालक कमलसिंह साउदले बताए । स्कूल दर्ता नभएको बिषयमा भने आफुले गत बर्ष गाउँपालिकाबाट अनुमति लिएर सञ्चालन गरेको बताए । तर शिक्षा साखा संयोजक पन्तले भने कक्षा १ सम्मका लागी दर्ता भएपनि थप कक्षाका लागी अनुमति नलिएको बताए ।
 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update