Sagun Khabar
बैतडीको बस्खेत खोलामा आएको बाढीले एक दर्जन बढी घरमा क्षति 
फोटो :बस्खेत खोलामा आएको बाढीले पुर्याएको क्षति तस्बिर सौजन्य : भोजराज भट्ट

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं ६ बस्खेतमा खहरे खोलामा आएको बाढीले दर्जनौं घरमा क्षति पुर्याएको छ । गएराती परेको अविरल बर्षाका कारण स्थानीयहरुका घरमा क्षति पुर्याएको स्थानीय भोजराज भट्टले जानकारी दिए । डोजरले खनेको सडकको माटो बस्खेत खोलमा आएको र खोलाको बाढीले स्थानीयहरुमा घरमा क्षति पुर्याएको उनले बताए । 

बाढीले स्थानीय मुन्ना लुहारको घर आधा बगाएको छ । घरभित्र रहेका खाद्यान्न सामग्री, भाँडाकुडा बगेका भट्टले बताए । उनले भने ‘खोलामा एक्कासी आएको बाढीले घरहरुमा क्षति पुर्याएको छ । अहिले पनि बस्ती जोखिममा रहेको छ । सडकमा नाली नहुँदा सडकको माटो सबै बगेर आउँदा बढी क्षति भएको छ ।’

Atrya hospital

यस्तै खोलामा आएको बाढीले स्थानीय हरिराम लुहारको घर जोखिममा छ भने शंकर भण्डारीको शौचालय बगाएको छ । अविरल बर्षाका कारण सडकको माटो सहितको बाढी गाउँमा पस्दा स्थानीय गणेशसिंह भण्डारी, सुन्दरसिंह भण्डारी, गगनसिंह भण्डारी,रमेश लुहार, शिवराम लुहार लगायतका १० जना भन्दा बढी घरहरु उच्च जोखिममा परेका छन् । 

प्रहरीले भने एकपसलमा मात्रै क्षति भएको जानकारी नआएको थप विवरण आउन बाँकी रहेको बताएको छ । ‘स्थानीय सुरेन्द्र भण्डारीको पसल पुरिएको खबर आएको छ । प्रहरी टोली घटनास्थल तर्फ गएको छ ।’जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दर्शन खड्काले भने, ‘प्रहरी टोली घटनास्थल पुगे मात्रै थप विवरण आउनेछ ।’

बर्षा शुरु भएसंगै जिल्लामा विपद्का घटनाहरु बाहिर आउन थालेका छन् । जथाभावी डोजरको प्रयोग गरेर खनेका सडकहरुका कारण बाढी पहिरोको जोखिम बढेको बताइएको छ । धेरै स्थानीय तहहरुले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्व तयारी समेत गरेका छैनन् । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update