Sagun Khabar
पकेट क्षेत्रमै मकैमा फौंजी किराको प्रकोप 

बैतडी – जिल्लाको सुर्नया गाउँपालिका ५ का किसान अजबबहादुर चन्दले दोश्रो पटक मकै छरे । एकपटक छरेको मकै किराले सखाप पारेपछि उनले दोश्रो पटक मकै छरेका हुन् । उनले भने ‘पहिलो पटक छरेको मैक उम्रने बेलामा नै किराले सखाप पार्यो । अनि अहिले दोश्रो पटक मकै छरेको छु ।’

जिल्लाको दशरथचन्द नगरपालिका १ का किसान अम्बादत्त बडुको खेतमा लगाएको मकैमा पनि फौंजी किराको प्रकोप देखिएको छ । किराले भर्खरै हुर्कन लागेको मकैका बोटहरु नष्ट गरेको उनले बताए । उनले भने ‘खेतमा लगाएको मकैमा फौंजी किराको प्रकोप देखिएको छ । किराले मकैबाली नष्ट गरेपछि अहिले हामीहरु समस्यामा परेका छौं ।’

Atrya hospital

बैतडीका विभिन्न स्थानमा मकैबालीमा अमेरीकन फौँजी किराको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका छन् । मकैबाली लगाएकै बेलादेखि फौँजी किराले मकैबालीमा क्षति पुर्याउन थालेको किसान बडुले बताए । किराले मकैको पातमा पसेर गाबो समेत खाने गरेको उनले बताए । 

यस्तै जिल्लाको पञ्चेश्वर गाउँपालिकाका विभिन्न स्थानमा पनि मकैमा फौंजी किराको प्रकोप देखिएको किसानहरुले बताएका छन् । फौँजी किराको प्रकोपले मकैबाली सखाप पारेको पञ्चेश्वर २ का देवबहादुर चन्दले बताए । उनले भने ‘मकैमा किरा लागेर सखाप पारेको छ । हिउँदमा खडेरीले गहुँ उम्रिनै पाएन् । यो बर्ष मकै उत्पादनमा ह्रास आउने देखिएको छ ।’

मकैको पकेट क्षेत्रमै किराले मकैबाली नोक्सान गर्न थालेपछि किसानहरु हैरान भएका छन् । गत बर्ष पनि मकैबालीमा फौंजी किराको प्रकोप देखिएको थियो । बैतडीमा मकैबालीमा फौंजी किराको प्रकोप देखिएको बारे विभिन्न ठाउँबाट जानकारी आएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख दिलबहादुर सिंहले जानकारी दिए । फौँजी किराको प्रकोप देखिएको ठाउँमा बिषादीको प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । उनले भने ‘फौैजी किराको प्रकोप देखिएको ठाउँमा बिषादीको प्रयोग गर्न सकिन्छ । नजिकका प्राविधिकहरुसंग सम्पर्क राखेर बिषादीको प्रयोग गरेमा यसको प्रकोप कम गर्न सकिन्छ ।’

फौंजी किराको प्रकोप भएका केही ठाउँमा कृषि ज्ञान केन्द्रका तर्फबाट पनि अनुगमन गर्ने तयारी भएको प्रमुख सिंहले बताए । 

बैतडीमा १३ हजार हेक्टर जमीनमा मकै खेती गरिँदै आएको छ । सुदूरपश्चिमको सबैभन्दा बढी मकैखेती हुने जिल्ला पनि बैतडी नै हो तर पछिल्लो समयमा विभिन्न कारणले मकै उत्पादनमा कमी आउन थालेको किसानहरुले बताएका छन् । फौंजी किरा, जंगली जनावर लगायतका कारण मकै उत्पादनमा कमी आउने गरेको किसानहरुको भनाई छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update