सुर्खेत- सुर्खेतको पञ्चपुरी नगरपालिका-३ मा हिजो एक दुखद घटना सार्वजनिक भएको छ । आफ्नो श्रीमतीको धारिलो हतियार प्रयोग गरी हत्या गरेपछि श्रीमतीको शव प्लास्टिकको थैलीमा बोकेर हिँडिरहेको अवस्थामा पञ्चपुरि नगरपालिका -३ तोक्मा बस्ने अम्मर बहादुर आले पक्राउ परेका छन् ।
यस घटना सार्वजनिक भएपछि मान्छे कसरी यतिसम्म क्रूर बन्न सक्छ भनेर प्रश्न खडा भएको छ । वैदेशिक रोजगारीबाट कमाएको रकम मा पारदर्शी नभएको हुनाले घटना घटेको बुझिएको छ । केही मानिसहरू वैदेशिक रोजगारीबाट श्रीमानले पठाएको रकम श्रीमतीले हिनामिना गरेकाले हत्या भएको बताइरहेका छन् भने केही श्रीमतीको व्यवहार प्रति शङ्का लागेर हत्या भएको बताएका छन् । तर वास्तविकता के हो खुलेको छैन् ।
श्रीमतीको हत्या गर्ने आलेलाई अहिले जिल्ला प्रहरी कार्यालय सुर्खेत पुर्याइएको सुर्खेत प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले बताए । साथै श्रीमतीको गतिविधिप्रति पनि अभियुक्तले शङ्काको दृष्टिकोणबाट हेर्ने गरेको प्रहरीलाई बताएका छन् । श्रीमतीलाई विभिन्न फोन र म्यासेजहरू आउने र त्यसलाई श्रीमानले शङ्काको दृष्टिकोणबाट हेर्ने बुझिएको छ ।
गत भदौमा वैदेशिक रोजगारीबाट नेपाल फर्केपछि आले रोजगारीको लागि भारत पुगेका थिए । उनी २०७९ वैशाख महिनामा नेपाल आएका थिए । श्रीमान् र श्रीमतीबिच पारिवारिक किचलो भइरहने आलेले प्रहरीसामु बताएका छन् ।
मिनाको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको छ। पोस्टमार्टमपछि मात्रै अन्तिम संस्कारका लागि आफन्तलाई शव बुझाइने प्रहरीले जनाएको छ। उनीहरूका ११ वर्षीय एक छोरा र ८ वर्षीया छोरी छन्।
बुवाले आमाको हत्या गरेर प्रहरी हिरासतमा भएकोले अहिले दुई नाबालकहरूको बिचल्ली भएको छ । उनीहरूलाई मावल पठाइदिने कुरामा छलफल भइरहेको स्थानीयले बताए ।