बैतडी –बैतडीमा जारी तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगिता अन्तर्गत आज पहिलो दिन तीन खेल सम्पन्न भएका छन् । सुर्नया गाउँपालिका र आयोजकबीच भएको पहिलो खेलमा आयोजकले जित हात पारेको छ ।
यस्तै आजै भएको दोश्रो खेलमा पुर्चौंडीलाई पराजित गर्दै दशरथचन्द नगरपालिकाले जित हात पारेको छ । आजै भएको तेश्रो खेलमा पञ्चेश्वरलाई पराजित गर्दै सिगासले जित हात पारेको भलिबल प्रशिक्षक हरिसिंह भण्डारीले बताए ।
मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा शुरु भएको भलिबल प्रतियोगितामा १० टीमको सहभागिता रहेको छ । प्रतियोगिता मंसिर २७ गते सम्म सञ्चालन हुनेछ ।
ट्रष्टका अध्यक्ष ग्रिस चन्दको अध्यक्षतामा भएको भलिबल प्रतियोगिता उद्दघाटन समारोहमा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी प्रमुख अतिथी रहेका थिए । जिल्लाभरीका भलिबल खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको आयोजना गरिएको ट्रष्टका सचिव विनोदबहादुर चन्दले बताए ।
प्रतियोगितामा प्रथम हुने टीमलाई नगद १ लाख २५ हजार र ट्रफी, दोश्रो हुनेलाई नगद ७५ हजार र ट्रफी तथा तेश्रो हुनेलाई नगद ३५ हजार र ट्रफी वितरण गरिने ट्रष्टले जनाएको छ ।
यो भन्दा पहिला दशरथचन्द नगरपालिकास्तरीय भलिबल प्रतियोगिता गर्दै आएको ट्रष्टले पहिलो पटक जिल्लास्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेको हो । यसका साथै ट्रष्टले अन्य सामाजिक कार्य समेत गरिरहेको सचिव चन्दले बताए ।