बैतडी –बैतडीमा जारी तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगितालाई सिगासले बहिष्कार गरेको छ । मंगलबार दनपासंग भएको खेलमा विवाद भएपछि खेल बहिष्कार गरिएको सिगासका खेल प्रशिक्षक दिपेन्द्र धामीले बताए ।
दनपासंग चारओटा खेल खेलीसकेको अवस्थामा पाँचौं तथा निर्णायक खेलमा रेफ्रीले पक्षपात गरेको सिगासको आरोप रहेको छ । सिगासका खेलाडीले हानेको स्पाइक चेक आउट गएको भएपनि रेफ्रीले नमानेर दनपालाई नै अंक दिएको र फेरी दनपाका खेलाडीले जाली छोएको भएपनि फल नमानेको भन्दै रेफ्रीमाथी सिगासका खेलाडीले प्रश्न गरेका थिए । सोही बिषयमा विवाद चर्किएपछि आफूहरुले खेल बहिष्कार गरेको धामीले बताए । विवादित खेल शुरुबाट खेलेमा आफूहरु खेलमा फर्कने अन्यथा आफूहरु नफर्कने धामीले बताए ।
यता भलिबल प्रशिक्षक हरिसिंह भण्डारीले भने सिगासको टीमलाई खेल फर्कन पटक पटक आग्रह गरेको भएपनि नमानेकाले अनुशासनको कारवाही गरेको दाबी गरे । सिगासले प्रतियोगिता बहिष्कार गरेपछि दनपा विजयी भएको घोषणा गरिएको थियो ।
जारी प्रतियोगितामा आज पहिलो खेल मेलौली र पाटनबीच हुने बताइएको छ । ती दुई टीमको खेलपछि फाइनलमा पुग्ने अर्को टोलीको टुंगो लाग्ने बताइएको छ ।