Sagun Khabar
बैतडीको डिलाशैनीमा गलत नियतले टेण्डर रद्द गरिएको आरोप 

बैतडी – जिल्लाको डिलाशैनी गाउँपालिकाले यही जेठ २६ गतेका दिन रद्द गरेको टेण्डर गलत नियतका साथ रद्द गरिएको आरोप लागेको छ । गाउँपालिकाले जेठ १२ गते सौर्य दैनिकमा प्रकाशन गरेको सेनटरी प्याड खरीद र रुद्रेश्वर स्वास्थ्यचौकीका लागि स्वास्थ्य सामग्री खरीद सम्बन्धि सूचना रद्द भएको जनाएको छ । तर जेठ १२ गतेको सौर्य दैनिकको इपेपरमा भने सो सूचना प्रकाशन भएको पाइदैन ।

१८ लाखको सेनेटरी प्याड र २० लाख स्वास्थ्य सामग्री खरीदको सूचना जेठ १२ गतेको मिति राखेर जेठ २५ गतेको हिमालय टाइम्समा प्रकाशन भएको पाइएको छ । पछाडिको मिति राखेर जेठ २५ गते सूचना प्रकाशन हुनु नियम विपरीत रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । उनले भने ‘जुन मिति राखिएको छ । त्यही मितिमा सूचना प्रकाशन हुनुपर्छ अन्यथा सूचनाको हकबाट वञ्चित गरिएको बुझिन्छ ।’

Atrya hospital

डिलाशैनीमा रद्द गरिएको टेण्डरका बिषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत परेको छ । पाटन नगरपालिका ६ का व्यवसायी छविराज जोशीले जिल्ला प्रशासनमा उजुरी दिएका हुन् । डिलाशैनी गाउँपालिकाले सूचना रद्द गर्ने प्रक्रिया गलत रहेको र सूचना प्रकाशनको प्रक्रिया पनि गलत रहेको भन्दै उजुरी दिएको जोशीले बताए । उनले भने ‘केही मान्छेका टेण्डर परेका थिए । उनीहरुले मिलाएर टेण्डर स्वीकृत गर्ने तयारी थियो । हामीले पनि टेण्डर बुझाउन जाँदा रद्द गरियो । सूचना प्रकाशन र टेण्डर रद्द गलत नियतका साथ भएको छ ।’

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले डिलाशैनीको टेण्डर रद्द भएको बिषयमा उजुरी परेको र गलत भएको पाइएमा कानुन अनुसार कारवाही हुने बताए । 

यो बिषयमा डिलाशैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहले आफूले नियम अनुसार नै टेण्डर रद्द गरेको बताए । सेनेटरी प्याड खरीद र स्वास्थ्य सामग्री खरीदका लागि अहिले कोभीड कारण गर्न नसकिने भएकाले टेण्डर रद्द गरिएको उनले बताए । 

जेठ १२ गतेको सूचना जेठ २५ गतेको पत्रिकामा प्रकाशन भएकोमा भने उनले अनभिज्ञता जाहेर गरे । तर जेठ १२ गतेको सौर्य दैनिकमा भने सूचना प्रकाशन भएको उनको दाबी छ । उनले भने ‘जेठ २५ गतेको पत्रिकामा सूचना प्रकाशन भएको बारेमा प्राविधिक फाँटमा बुझ्नुपर्छ । यो बिषयमा खासै मलाई थाहा छैन् । काम गर्न नसकिने भएकाले टेण्डर रद्द गरेका हौं ।’

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update