काठमाण्डौं –डोटीका भूकम्प पिडितलाई काठमाडौं महानगरले आर्थिक सहयोग गरेको छ । काठमाडौं महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर विचल्लीमा परेका परिवारलाई १० लाख रुपैयाँ सहयोग गरेको हो । डोटीमा कार्तिक २३ मा आएको ६.६ रेक्टर स्केलको भूकम्पले ३८ सय घरटहरा भत्किएको थियो ।
महानगरमा डोटीका भूकम्प पीडितका लागि सहयोगको अनुरोध आएपछि महानगरबाट विपद व्यवस्थापन अन्तर्गतको बजेटबाट गाउँपालिकालाई १० लाख सहयोग गरेको हो । मेयर बालेन शाहले नेपालका दुरदराजमा नागरिकहरुले दुख पाइरहँदा काठमाडौंमा चासो नै नहुने, समाचार नै नबन्ने अवस्था आज पनि रहेको भन्दै गुनासो गरे ।
उनले फेसबुकमार्फत भनेका छन्,‘काठमाडौंमा अनधिकृत टहरा भत्काउँदा राष्ट्रिय समाचार बन्छ तर डोटीमा भुकम्पबाट ३८ सय टहरा भत्काउँदा समाचार बन्ने बिषय पनि मानिदैन । ’ पीडितहरु कसरी सुरक्षित होलान् भन्ने सार्वजनिक रुपमा चासो समेत नभएको गुनासो गरे ।
उनले लेखेका छन्,‘ परालको टहरा बनाएर बसेको स्थानमा चितुवा आक्रमणमा मान्छेको मृत्यु भएको छ । चितुवाको डर छदैछ, त्यसमाथि पुष महिना सुरु भइसक्यो । जाडो बढेको छ । हिउँ पर्न सुरु हुन्छ । अब जाडो र हिउँको कारणले ज्यान गुमाउन सक्ने अवस्था बन्न बेर लाग्दैन ।’
ति पिडितहरु कसरी सुरक्षित होलान् भन्ने सार्वजनिकरुपमा चासोसम्म देखिदैन । पिडितहरुको पिडामा अरुको चिन्ता छ भन्ने अनुभुतिले मात्रै पनि उनीहरुको मनोबल बढ्नेछ । मेयर साहले १० लाख भन्दा बढी सहयोग गर्न महानगरका केही सीमाहरु रहेको बताए ।
उनले राज्य संयन्त्र, सम्बन्धित मन्त्रालय, सांसद ,सरकारी गैरसरकारी संघसंस्था तथा व्यक्तिहरुको पहलमा पनि डोटीका भूकम्पपीडितहरुलाई सहयोग गर्न अनुरोध गरे ।