काठमाण्डौं –टिकटकमा चर्चित डडेल्धुराकी मोडल मिस पवी रेडियो नाटक ‘रोपेगुना फलको टिकटक’ प्रतियोगिताको निर्णायकमा छनोट भएकी छन् । एन्टेना फाउण्डेशन नेपाल र मिस पवीबीच सो कार्यका लागि सहमति भएको हो । स्थापित सञ्चार संस्था एन्टेना फाउण्डेशन नेपालले टिकटक पारखीका लागि लोभलाग्दो योजना सार्वजनिक गरेसँगै मिस पवी यो अभियानमा जोडिएकी हुन् ।
जन्मेदेखि ८ बर्षसम्म बालबालिका हुर्काउन र बढाउन अभिभावकको जिम्मेवारीमा उत्कृष्ट टिकटक बनाउनेमध्येबाट पहिलो हुनेले ५० हजार, दोश्रोले ३० हजार र तेश्रोले २० हजार नगद पुरस्कार पाउनेछन् ।
सो टिकटक प्रतियोगितामा चर्चित मिस पवीले प्रचारप्रसार, प्रवद्र्धन तथा निर्णायक समूहमा रहेर सहयोग गर्नेछिन् ।
मिस पवी सुदुरपश्चिममा बोलिने डोटेली भाषामा समसामयिक सन्देशमुलक टिकटक बनाएर दर्शकमाझ लोकप्रिय छिन् ।
रोपेगुना फल सुदुरपश्चिम र कर्णाली प्रदेशका अभिभावक, किशोरकिशोरी तथा युवायुवतीलाई लक्षित अडियो ÷रेडियो नाटक भएकोले सो क्षेत्रको लोकप्रिय लवजमा टिकटक मार्फत लक्षित श्रोता दर्शकसम्म पुग्नका लागि उपयोगी हुने एन्टेना फाउण्डेशन नेपालका कार्यकारी निर्देशक विनय गुरागाई बताउँछन् ।
यो प्रतियोगितामा भाग लिने प्रतियोगीले यस नाटकको कुनै पनि रेकर्डेड अङ्कबाट कुनै पनि संवाद छनोट गर्न सक्नेछन् । टिकटक भिडियो न्यूनतम १ मिनेटको र अधिकतम ३ मिनेटको हुनु पर्नेछ । भिडियो कसैको पनि जातीय, लैङ्गिक, सांस्कृतिक तथा धार्मिक भावनामा आघात नपुग्ने गरी बनाउनु पर्नेछ ।
भिडियो बनाउँदा बालबालिका, तथा शारीरिक अवस्था वा फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिहरूको अवस्था तथा भावनाप्रति संवेदनशील हुनुपर्छ । प्रतियोगितामा भागलिने एकजनाले एउटा वा बढी टिकटक बनाउन सक्नेछन् वा समूहमा मिलेर समेत सहभागि हुनसक्नेछन् । टिकटक भ्यूज, लाइक, कमेन्ट र शेयर संख्या र सामाजिक संवेदनाको कसीमा राखि प्रतियोगी छनौट गरिनेछ ।
पुरस्कृत प्रतियोगीले एन्टेना फाउण्डेशन नेपालले उत्पादन गर्ने अडियो, रेडियो तथा भिडियो नाटकमा कलाकार भएरसमेत काम गर्ने अवसर पाउन सक्ने छन् ।