बैतडी –प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट अर्को सातादेखि हुने भएको छ । छनोट प्रतियोगिता पुस १८ गतेदेखि हुने तय भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले बताए ।
प्रतियोगितामा सहभागी हुने सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कञ्चनपुर, बैतडी, डोटी र अछाम तथा समूह ‘बी’ मा कैलाली, बझाङ र डडेल्धुरा रहेका छन् ।
कैलालीको फाप्ला क्रिकेट मैदानमा हुने उक्त प्रतियोगिताको पहिलो खेल पुस १८ गते कञ्चनपुर र बैतडीबीच तथा दोस्रो खेल डोटी र अछामबीच हुनेछ सङ्घले जनाएको छ ।
शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुने छ । उक्त छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ । उक्त टोलीले नेपाल क्रिकेट संघ क्यान) को आयोजनामा यही पुस २९ गतेदेखि सुनसरीको इटहरीमा सञ्चालन हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता खेल्ने छ ।