बैतडी –बैतडीको दशरथचन्द नगरपालिका वडा नं ७ ले आयोजना गरेको प्रथम अध्यक्ष खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक दनपा ७ ले हात पारेको छ । उपाधिसंगै उसले २० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । बिहीबार सम्पन्न भएको प्रतियोगितामा मेलौली नगरपालिका ५ को ए टीम दोश्रो भएको छ । उसले १५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
प्रतियोगितामा दनपा ११ को केदारनागार्जुन टीमले तेश्रो स्थान हात पार्दै १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । यसैगरी प्रतियोगितामा डडेल्धुराको सिक्स ब्रदर्शले सान्त्वना स्थान हात पारेको छ । उसले नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको भलिबलका प्रदेश रेफ्री भुपेन्द्र चन्दले बताए ।
प्रतियोगितामा आयोजक दनपा ७ का गणेश साउँद उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले १ हजार नगद सहित कप र मेडल हात पारेका छन् । प्रतियोगितामा केदार नागार्जुनका नवीन भण्डारी बेष्ट ब्लकर, आयोजकका दीपक अवस्थी बेष्ट स्पाइकर, मेलौली ५ ए का प्रकाश चन्द बेष्ट सटर, मेलौली ५ ए का दिपेन्द्र भण्डारी बेष्ट लिब्रो र मेलौली ५ ए कै कल्पेश चन्द बेष्ट सर्भिसर घोषित भएका छन् । उनीहरुलाई जनही ५ सय रुपैंया कप र मेडल प्रदान गरिएको प्रदेश रेफ्री चन्दले बताए ।
यस्तै प्रतियोगितामा कैलपालेश्वर मावि ऐँचेकाँडाका सुरत चन्द उदयमान खेलाडी घोषित भएका छन् भने सिनियर खेलाडी आयोजक बी का तारादत्त बडू घोषित भएका छन् । यस्तै कैलपालेश्वर मावि ऐँचेकाँडाको टीमलाई अनुशासित टीम घोषणा गरिएको छ ।
यही पुस १२ गतेदेखि शुरु भएको प्रतियोगितामा ८ टीमको सहभागिता रहेको थियो । प्रतियोगितामा बिजेताहरुलाई वडा अध्यक्ष हरिदत्त बडू लगायतले पुरस्कार वितरण गरेका थिए । स्थानीयस्तरमा रहेका खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने र खेलप्रति सबैको रुचि जगाउनका लागि प्रतियोगिताको आयोजना गरिएको वडा अध्यक्ष बडूले बताए ।