काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन गर्ने तयारी भएको छ । पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तय भएको छ ।
राजनीतिक दलहरुको आग्रह र सुझावका आधारमा संघीय संसद सचिवालयले पुस २६ गते नै सभामुखको निर्वाचनका लागि सूचना निकाल्ने कार्यसूची सर्वदलीय बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ ।
प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले पुस २२ गतेका लागि सर्वदलीय बैठक बोलाएका छन् । कार्यव्यवस्था परामर्श समिति गठन नहुँदासम्म सर्वदलीय बैठकले संसदको कार्यसूची तय गर्ने अभ्यास छ ।
संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार २२ गतेको सर्वदलीय बैठकको मुख्य एजेण्डा प्रतिनिधिसभा नियमावली नयाँ बनाउने कि पुरानै स्वीकार गरेर जाने, प्रधानमन्त्रीले विश्वासको मत लिने र सभामुखको निर्वाचन हो ।
संघीय संसदका महासचिव भरतराज गौतमका अनुसार दलहरुका बीचमा सहमति भए प्रधानमन्त्रीले विश्वासको मत लिएकै दिन सभामुखको निर्वाचनको सूचना जारी हुनेछ ।
२६ गते नै सभामुखको निर्वाचनको सूचना जारी भएको अवस्थामा यही महिनाभित्र संसदले सभामुख पाउँछ । २७ गते पृथ्वी जयन्ती छ । यस दिन सार्वजनिक बिदा दिनुपर्ने सत्ता साझेदार दल राप्रपाको माग छ । २७ गते सार्वजनिक बिदा दिइएमा २८ गते सभामुखका लागि उम्मेदवारी दर्ता र २९ गते निर्वाचन हुनेछ ।
संसद सचिवालयका अधिकारीहरुका अनुसार सभामुखको निर्वाचनका लागि कम्तिमा तीन दिन आवश्यक पर्छ । पहिलो दिन सभामुखका लागि सूचना जारी गर्ने, दोस्रो दिन सभामुखका लागि उम्मेदवारी दर्ता गर्ने र तेस्रो दिन निर्वाचन गर्ने ।
२५ पुसबाट प्रतिनिधि सभाको बैठक सुरु हुने भएकाले सभामुखको निर्वाचनका लागि माघ १० गतेसम्मको समय छ । संविधानको धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ ।