बैतडी- बैतडीमा सम्पन्न टी–१० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक एनआरवाइसी ‘ए’ले जितेको छ । पन्ध्रौँ संस्करणको एनआरवाइसीले गत संस्करणको विजेता कैलपाल क्रिकेट क्लब जर्गलाई ६० रनले स्तब्ध पार्दै उपाधि जितेको हो ।
उपाधिसँगै एनआरवासीले २५ हजार, ट्रफी र मेडल प्राप्त गरेको नागारर्जुन रणसैनी युवा क्लवका प्रवक्ता महेश चन्दले जानकारी दिए । यस्तै उपविजेता कैलपालले १५ हजार, ट्रफी र मेडलमा चित्त बुझाएको छ । मंगलबार सम्पन्न फाइनल खेलमा एनआरवाइसीले दिएको १३३ रनको लक्ष्य पन्छाएको कैलपालले निर्धारित १० ओभरमा ९ विकेटको क्षतिमा ७२ रन मात्रै बनाउन सक्यो ।
जसमा प्रदीप चन्दले सर्वाधिक ३७ रन बनाएपछि टोलीलाई जिताउन पर्याप्त भएन । एनआरवाइसीका राम चन्दले ३, कल्पेश चन्दले २ विकेट हात पारे । त्यसअघि दशरथचन्द नगरपालिका–११ स्थित मावि बगलेखानको मैदानमा पहिला ब्याटिङ गरेको एनआरवाइसीले कल्पेश चन्दको ४३ रनको मद्दतमा ७ विकेट गुमाउँदै १३२ रन बनायो। कैलपालका प्रदीप चन्दले २ विकेट हात पारे ।
यसैबीच प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी आयोजक एनआरवाइसीका राम चन्द भएका छन् । प्लेयर अफ द फाइनल एनआरवाइसीका कल्पेश चन्द चुनिए। उत्कृष्ट ब्याटर कैलपालका प्रदीप चन्द, उत्कृष्ट बलर एनआरवाइसीका सन्तोष विजले, उदीयमान खेलाडी नानीगाडका किशोर पन्त, उत्कृष्ट किपर नागार्जुन सीमका नरेश चन्द, उत्कृष्ट फिल्डर एनआरवाइसीका भानबहादुर चन्द र उत्कृष्ट क्याच एनआरवाइसीका महेश चन्द चुनिए ।
नागारार्जुन रणसैनी युवा क्लवको आयोजनामा यहि पुष १५ देखि सुरु भएको क्रिकेट प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।